सोच्नुस् त ! एक दिन निधन भइसकेका तपाईंको नजिकको व्यक्तिबाट फेसबुकमा म्यासेज आयो । तपाईंले के गर्नुहुन्छ ? यस्ता म्यासेज, इमेल, सन्देश जो कसैलाई पनि आउन सक्छ । किनभने अहिले इन्टरनेटमा घोस्ट ह्याकर (भुताहा ह्याकर) प्रयोगकर्तालाई झुक्याएर ठगी गर्ने उद्देश्यले घुमिरहेका छन् ।
यी ह्याकरले ती व्यक्तिको अकाउन्टलाई निशाना बनाउँछन् जो अहिले यस संसारमा छैनन् । भुताहा ह्याकरको काम भनेकै यस्ता अकाउन्टलाई ह्याक गरेर अनलाइन ठगी गर्नु हो ।
पछिल्लो समय साइबर अपराधमा नयाँ नयाँ प्रविधि र तरिका अपनाउने क्रम बढ्दो छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, अनलाइन ठगी, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा बैङ्क खाता आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण र नेटवर्कमा पुर्याउने क्षतिलगायतका अवैधानिक कार्यलाई साइबर अपराध मानिन्छ ।
केही समययता साइबर अपराधीले आफ्नो पहिचान लुकाउन मृत्यु भएका व्यक्तिको अकाउन्ट र पहिचान प्रयोग गरी साइबर अपराध गर्ने क्रम बढ्दो छ । यस्ता खालका साइबर अपराधमा लाग्ने ह्याकरलाई ‘घोस्ट ह्याकर’ (भुताहा ह्याकर) भन्ने गरिन्छ ।
केही समययता साइबर अपराधीले आफ्नो पहिचान लुकाउन मृत्यु भएका व्यक्तिको अकाउन्ट र पहिचान प्रयोग गरी साइबर अपराध गर्ने क्रम बढ्दो छ । यस्ता खालका साइबर अपराधमा लाग्ने ह्याकरलाई ‘घोस्ट ह्याकर’ (भुताहा ह्याकर) भन्ने गरिन्छ ।
भुताहा ह्याकर को हुन् ?
भुताहा ह्याकरले मृत्यु भएका व्यक्तिको अकाउन्ट नियन्त्रणमा लिन्छन् । यिनीहरूले मृत्यु भएका व्यक्तिको आफन्त भएको नाटक गर्छन् । नयाँ शिकार फसाउन विभिन्न व्यक्तिको मृत्युको खबर, सूचना तथा अनलाइन गतिविधिमा निगरानी राख्छन् । उनीहरूको व्यक्तिगत गोप्य सूचना लिन्छन् ।
त्यसपछि यी ह्याकरले गोप्य सूचनाका आधारमा साथी र परिवारका सदस्यलाई ठगी गर्ने उद्देश्यले हानिकारक इमेल तथा म्यासेज पठाउँछन् । साथै भुताहा ह्याकरले मृत्यु भएका व्यक्तिको पर्याप्त व्यक्तिगत जानकारी लिएर बैङ्क खातामा कब्जा गर्ने प्रयास गर्छन् ।
यिनीहरूले मृतकको पहिचान चोरेर उनीहरूको नाममा रहेको क्रेडिट कार्ड, लोन र अन्य आर्थिक सुविधा जालसाजी गरेर प्राप्त गर्न प्रयास गर्छन् । भुताहा ह्याकरहरू धमिरा जस्तै हुन्छन् । एकचोटि कुनै व्यक्तिको खाताभित्र छिरे भने यिनीहरू सबै ठाउँमा फैलिन थाल्छन् । यी ह्याकरको मुख्य उद्देश्य आर्थिक रूपमा फाइदा उठाउने हुन्छ । नेपालमा समेत यस्ता खालका साइबर अपराध दिनप्रतिदिन बढ्दै गएको छ ।
बच्न के गर्ने ?
भुताहा ह्याकरको मुख्य निशानामा धेरै समयसम्म नचलाइएका तर निष्क्रिय नगराइएका आर्थिक कारोबारसँग सम्बन्धित अनलाइन खाता तथा सामाजिक सञ्जालहरू अकाउन्ट हुन्छन् । त्यसैले मृतकसँग सम्बन्धित सामाजिक सञ्जाल र आर्थिक कारोबारसँग सम्बन्धित सबै खाता परिवारका सदस्यले बेलैमा निष्क्रिय पार्नु पर्छ ।
यसका अतिरिक्त मृतकको मोबाइल नम्बर पनि बन्द गरिदिनु पर्छ । अहिले अधिकांश अनलाइन खाता मोबाइल नम्बरसँग जोडिएका छन् । त्यसैले मोबाइल नम्बर बन्द गर्नु अर्को सुरक्षित विकल्प हो । मृतकको मोबाइल नम्बर सधैँका लागि बन्द गर्नु उत्तम विकल्प हुन्छ । परिवारका सदस्यमध्ये कसैले मृतकको मोबाइल नम्बर चलाउन चाहेमा नामसारी गरेर चलाउन सक्छन् । यसो गर्दा मृतकको सबै खाताबाट सो नम्बर हटाउनु राम्रो हुन्छ ।
सामाजिक सञ्जाल कम्पनीहरूले घरपरिवारका सदस्यलाई मृत्यु भएका व्यक्तिको खाता हटाउन मिल्ने सुविधा दिएका हुन्छन् । फेसबुकमा प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो फेसबुक अकाउन्ट के गर्ने भन्ने कुरा प्रयोगकर्तालाई आफैँ तय गर्ने सुविधा दिएको छ । त्यसैले फेसबुकका प्रयोगकर्ताले यो फिचर प्रयोग गरेर आफ्नो मृत्युपछि फेसबुक अकाउन्ट कसले चलाउने वा निष्क्रिय पार्ने भन्ने विकल्प छान्न सक्छन् ।
यस्तो फिचर फेसबुकमा मात्र नभई इन्स्टाग्राम र एक्स (ट्विटर) मा पनि रहेको छ । यस्तो फिचर आइफोन प्रयोगकर्ताका लागि एप्पलले ‘लिगेसी कन्ट्याक्ट’ मा उपलब्ध गराएको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताले एप्पल खाता डाटा व्यवस्थापन गर्न विश्वसनीय व्यक्तिलाई नियुक्त गर्न सक्छन् । मृत्युपछि खाताको जानकारी ह्यान्डल गर्न प्रयोगकर्ताले धेरै व्यक्तिलाई लिगेसी कन्ट्याक्टमा राख्न सक्छन् । यसका लागि लिगेसी कन्ट्याक्टमा रहने व्यक्ति १३ वर्ष पूरा गरेको हुनु पर्छ ।
यस्तै आफ्नो गुगल खाता सेटिङहरू पनि परिवर्तन गर्न सकिन्छ । तपाईंले आफ्नो खोज, हेराइ र स्थानलगायतका हिस्ट्रीका केही पक्षलाई गोप्य राख्न सक्नुहुन्छ । गुगल खातामा सेटिङ परिवर्तन गरेपछि गुगलका डाटा १८ महिनापछि स्वतः मेटिन्छन् । यसका साथै गुगलमा रहेको ‘इनएक्टिभ अकाउन्ट म्यानेजर’ टुलको सहायताबाट प्रयोगकर्ताले आफ्नो मृत्यु भएको खण्डमा अकाउन्ट चलाउन १० जनासम्मलाई छनोट गर्न सक्छन् ।
फेसबुकमा कसरी गर्ने ?
मृत्युपछि फेसबुकलाई के गर्ने अथवा कसरी व्यवस्थित राख्ने भन्ने कुरा तपाईंको निर्णयमा भर पर्छ । आफ्नो फेसबुक खाता ‘मेमोरियलाइज्ड’ (सम्झनामा राख्ने) बनाउन वा ‘डिलिट’ (हटाउन) गर्न सकिन्छ । मृत्युपछि फेसबुकका प्रयोगकर्ताले आफ्नो अकाउन्ट मेमोरियलाइज्ड बनाउन ‘लिगेसी कन्ट्याक्ट’ अपडेट गर्नु पर्छ । यहाँ (लिगेसी कन्ट्याक्ट) मा प्रयोगकर्ताले आफ्नो नजिकको साथी वा परिवारका कुनै सदस्यलाई राख्न सक्छन् । जो व्यक्तिलाई लिगेसी कन्ट्याक्टमा राखिन्छ उसले प्रयोगकर्ताको मृत्युपछि सो फेसबुक अकाउन्ट सञ्चालन (मोडरेट) गरिदिन सक्छ ।
साथै हालसालै तपाईंको नजिकको कोही व्यक्तिको मृत्यु भएको छ भने त्यस्तो अकाउन्ट हटाउन अथवा मेमोरियलाइज्ड खाता बनाउन तपाईंले फेसबुकलाई अनुरोध पनि गर्न सक्नुहुन्छ ।