• ८ पुस २०८१, सोमबार

अहिले काँग्रेसमा विचलन छ : नेता कोइराला

blog

काठमाडाैं, पुस ८ गते । नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पार्टीमा विचलन रहेको बताउनुभएको हो । 

उहाँले आफूलाई ४०-६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताउनुभयो । सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उहाँको स्पष्टीकरण थियो । 

सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, "अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०-६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिले भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो ।" 

अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी रहेकाे बताउँदै गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहने उल्लेख गर्नुभयाे । "अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो," उहाँले भन्नुभयाे ।

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गर्नुभयो । अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने बताउनुभयो ।