• ११ वैशाख २०८१, मङ्गलबार

ताप्लेजुङमा वडाध्यक्षसहित १५ जना स्वतन्त्र निर्वाचित

blog

सिदिङ्वा गाउँपालिका ५ का नवनिर्वाचित स्वतन्त्र वडाध्यक्ष अमरबहादुर लिम्बू । तस्विरः चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षसहित १५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लामा कुल ३१९ जना जनप्रतिनिधि निर्वाचित भएकामध्ये १५ जना स्वतन्त्रतर्फका उम्मेदवार निर्वाचित भएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको नवनिर्वाचित जनप्रतिनिधिको तथ्याङ्कअनुसार स्वतन्त्रबाट उम्मेदवार बनेका चारजना वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सिदिङ्वा गाउँपालिका ५ मा अमरबहादुर लिम्बू, सिरिजङ्घा गाउँपालिका ७ मा बुद्धिप्रसाद दाहाल, पाथीभरा याङ्वरक गाउँपालिका ५ मा रमेश खालिङ स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँहरु राजनीतिक दलका प्रत्याशीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।  

यस्तै फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलाको वडाध्यक्षमा छेतेन लामा शेर्पा निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारी दिनुभएका महिला सदस्य दुई, दलित महिला सदस्य दुई र खुल्ला सदस्य सातजना निर्वाचित हुनुभएको छ । जिल्लाका नौ स्थानीय तहमा ६१ वटा वडा छन् । 

स्वतन्त्रतर्फ प्रमुखसहित विभिन्न पदका ४८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । एकमात्र फुङ्लिङ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा एक–एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने विभिन्न स्थानीय तहमा चारजनाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी  थियो । यस्तै वडाध्यक्षमा १५ जना, खुला सदस्यमा १८ जना, महिला सदस्य चारजना र दलित महिला सदस्यमा पाँचजना स्वतन्त्र उम्मेदवार चुनावमा भिडेका थिए । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।