• २९ माघ २०८१, मङ्गलबार

कञ्चनजङ्घा हीरक महोत्सवको लोगो सार्वजनिक

blog

कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिँदै । तस्बिर ः चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २९ गते । आगामी बैशाखमा ताप्लेजुङमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको ‘लोगो’ सार्वजनिक गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

कञ्चनजङ्घा हीरक महोत्सव संयोजन समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै लोगो सार्वजनिक गरेको हो । महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्नुहुँदै संयोजन समितिका संयोजक पिछ्वाङ शेर्पाले महोत्सवको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।

महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापन र तयारीमा जुटेको आयोजक समितिले तयारीलाई नै थप टेवा पुर्‍याउनेगरी महोत्सवको छुट्टै लोगो निर्माण गरेर सार्वजनिक गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । उहाँले लोगो निर्माण (डिजाइन) सँगै महोत्सवको तयारी निरन्तर भइरहेको पनि जानकारी दिनुभयो ।

कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात हीरक महोत्सव आगामी २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन मनाइने भएको छ । कञ्चनजङ्घा व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा महोत्सव आयोजना हुने छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको परिषद्का सदस्य–सचिव मनकुमार राईले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो । कञ्चनजङ्घामा मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गर्न लागिएको हो । यसअघि २०७३ साल मङ्सिरमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा फुङ्लिङको सुकेटारमा हीरक महोत्सव आयोजना गरिएको थियो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।