• १७ असार २०८१, सोमबार

फोहोरको थुप्रोमा पानी पर्दा सहर दुर्गन्धित

blog

काठमाडौँ, जेठ ५ गते  । डिल्लीबजार वसन्तेश्वर महादेव मन्दिर छेउको किराना पसलका विमल थापाले छेवैमा थुपारिएका फोहोरको दुर्गन्धका कारण खाना, खाजा खान सक्नुभएको छैन । उहाँले भन्नुभयो, “राति पसल बन्द गरेर जाँदा सडकमा फोहोर खासै हुँदैन । बिहान पसल खोल्न आउँदा त फोहोरको थुप्रो लागेको हुन्छ । त्यसैमा आकाशबाट पानी पोखेजस्तै वर्षा भइरहेको छ । अनि पसलमा बसिसक्नु छैन ।”

काठमाडौँमा पसल गरेर बस्ने थापा मात्र होइन, सडकका बटुवाहरू पनि फोहोरको दुर्गन्धले नाक थुनेर हिँड्ने गरेका छन् । कतिपयले झ्याल खोलेर घरभित्र पनि बस्न नसकिने अवस्था भएको गुनासो आउन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भन्नुभयो, “केही समययता झाडापखाला र हैजाका बिरामी अस्पताल देखिन थालेका छन् । सङ्क्रामक यो रोग धेरै नफैलियोस् भनेर विचार पु-याउन आवश्यक छ । यो दुर्गन्धबाट खानपानमा अरुचिलगायत विभिन्न प्रकारका रोग फैलन सक्ने खतरा पनि त्यत्तिकै छ ।”

पिङ्गलास्थान स्थित रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीका अनुसार केन्द्रमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएका सामान्य परिवारका बालबालिका फोहोरबाट प्रभावित भएका देखिएका छन् । बालबालिकामा शरीर चिलाउने, खटिरा आउने खालका समस्या बढी मात्रा देखिन थालेका छन् ।

काठमाडौँ जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा. अञ्जु कार्कीले सहरमा देखापरेको फोहोर तत्काल व्यवस्थापन नहुने हो भने नगरवासीमा हैजा, झाडापखालालगायतका सरुवा रोगको सङ्क्रमण फैलिने सम्भावना बताउनुभयो। हाल सडकमा देखिने फोहोरमा मरेका कुकुर, बिरालो, खसी बोकाका भुत्ला पनि फालिएका छन् । जसले गर्दा फोहोरेको दुर्गन्धले टाढा टाढासम्म प्रभाव देखिने गरेको छ। 

काठमाडौँको झोँछे लायकु साः स्थित खाजाघरका विक्रम साखःकर्मीले सडकमा भएको फोहोरको दुर्गन्धले पसल चलाउन निकै गाह्रो भएको बताउनुभयो । उहाँका अनुसार पसल नजिकै फालिएको फोहोरको दुर्गन्धले ग्राहकहरू पनि नआउने गरेका छन् । त्यसैगरी केश कर्तन, मुण्डन गर्नेलगायत लत्ता कपडाका पसल पनि दुर्गन्धका कारण ग्राहक आउन नसक्ने अवस्थामा रहेको नयाँ सडक हेयर सैलुनका शम्भु ठाकुरले बताउनुभयो । 

वीर अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. विष्णु बस्नेतले फोहोर व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, यसले सङ्क्रमणयुक्त छिटो फैलने सरुवा रोग निम्त्याउने खतरा छ । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर व्यवस्थापनमा महानगरपालिकाको चासो उत्तिकै छ । सिसडोलमा बाटो हिलाम्य भएर मात्र फोहोर व्यवस्थापनमा विलम्ब भएको हो । काठमाडौँबाट दैनिक ५१६ मेट्रिक टन फोहोर र योसहित काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ३५ टन फोहोर उत्पादन हुँदै आएको थियो । फोहोर उठ्न नसकेपछि सडकमा थुप्रिँदै गएको छ ।

Author

सरोज आचार्य