• १३ मंसिर २०८१, बिहिबार

बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै

blog

मेला सचिवालय बुटवल मण्डप । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, मङ्सिर १३ गते ।
बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्रचार प्रसार गर्न टिकटक प्रतियोगिता हुने भएको हो ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गइरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो ।

मेलामा विविध पक्षहरुको प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताउनुभयो । प्रतियोगिता मङ्सिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ ।

टिकटक प्रतियोगितामा भाग लिनका लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम पाँच हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मङ्सिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्ने छ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारी मूलक हुनुपर्ने छ ।

टिकटक बनाउँदा एकल, समूह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्नेछ । तर कानुनले निषेध गरेका कुराहरुलाई टिकटकको कन्टेन्ट बनाउन पाइने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराइने पनि उहाँले जानकारी गराउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपिया नगद पुरस्कार प्रदान गरिने संघकम कार्यसमिति सदस्य तथा श्रब्यदृश्य व्यवस्थापन एवम् प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो ।

प्रतियोगितामा टिकटकमा लाईक, कमेन्ट, शेयर तथा भ्यूजको आधारमा विजेता छनोट गरिने छ । त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको पनि प्रचा प्रसार समन्वयकर्ता पोखरेलले जानकारी गराउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला गरिँदै छ ।