• ३ जेठ २०८१, बिहिबार

सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजय

blog

बाबुराम देबकोटा
सिन्धुलीमाढी, जेठ ३ गते ।
सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा उप–प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयको सुरुवात गरेका छन् ।

जिल्लामा हालसम्म सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तीन पाटन, घ्याङलेख र हरिहरपुरगढी गाँउपालिकामा प्रमुख तथा उप–प्रमुख सत्तारुढ गठबन्धन नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, तीनपाटन गाँउपालिकाको अध्यक्षमा एक हजार १९५ मतअन्तरले नेपाली कांग्रेसका कर्णबहादुर थापामगर पुनः निर्वाचित बन्नु भएको छ । उहाँले नौ हजार २३९ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का छत्रबहादुर दाहालले आठ हजार ४२ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का धनबहादुर पुलामीले आठ ३९९ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदम माया तामाङले सात ९०८ मत पाउनु भएको छ ।

तीनपाटन गाउ“पालिकाको ११ वडामध्ये नौवटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार र वडा नं. १ र ५ मा नेकपा (एमाले) का वडाध्यक्षसहित विजयी भएका छन् ।

घ्याङलेख गाउ“पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जगतबहादुर भोलन पुनः निर्वाचित बन्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चतुर्मान लोलाई ७१९ मतले पछि पार्दै गाउँपालिका अध्यक्षमा विजयी हुुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत राजेन्द्र कार्कीका अनुसार, गाउँपालिका अध्यक्षमा विजयी भोलनले दुई हजार १०२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार लोले एक हजार ३८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा पनि सत्तारुढ गठबन्धनकै नेकपा (माओवादी केन्द्र) का शंकरमान घलानले दुई हजार ९८३ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका प्रतिपस्पर्धी नेकपा एमालेका प्रमिला वाईवाले एक हजार ४२८ मत प्राप्त गर्नुभएको छ । पाँचवटा वडा रहेको उक्त पालिकामा वडा नं. १, २, ४ र ५ मा माओवादी केन्द्रका प्यानललै विजयी भएका छन् भने वडा नं. ३ मा नेकपा एमालेका उमेदवारको प्यानल नै विजयी भएको सहायक निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाँउपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का बज्रध्वज वाइवा निर्बाचित हुनुभएको छ । उहाँले चार हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानबहादुर वाइवाले तीन ६१६ मत प्राप्त गर्नु भएको छ । पालिकाको उपाध्यक्षमा गठबन्धनबाटै नेपाली काँग्रेसका चेखबहादुर थिङ पाँच हजार ७०३ मत ल्याएर बिजयी बन्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी निर्मला ठाडामगरले दुई हजार ८५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठवटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा वडा नं १ मा एमाले, वडा नं २ मा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षसहित प्यानल जित हात पारेको छ । बा“की ३ देखि ८ सम्मका ६ वटा वडाहरुमा माओवादी केन्द्रले अध्यक्षसहितको समूहले जीत हासिल गरेको छ । सिन्धुली जिल्लामा छवटा पालिकामा मतगणना भइरहेको छ ।