• १४ वैशाख २०८१, शुक्रबार

पार्खिवास, महालक्ष्मीमा काँग्रेस, धनकुटा नगरमा एमाले विजयी

blog

कोकिला भण्डारी 

धनकुटा, जेठ ३ गते । नगर प्रमुख र उपप्रमुखमा एमालेको वर्चस्व  कायम राख्दै चिन्तन तामाङले दोस्रो पटक पनि नगर प्रमुखमा विजय हासिल गर्नुभएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामाङले सात हजार ६६६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काँग्रेसका दिनेश राईले सात हजार ६५२ मत प्राप्त गर्नु भएको छ ।

एमालेका तामाङले काँग्रेसका राईलाई १४ मतान्तरले पछि पार्दै विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय धनकुटा मुख्य निर्वाचन अधिकृत फडिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

त्यसैगरी उपप्रमुख पदमा एमालेका भीमादेवी खनाल (शान्ता) ले सात हजार १९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गणेशबहादुर बिष्टले ६ हजार ६२९ मत प्राप्त गर्नुभएको छ । एमालेका खनालले ५६७ मतान्तरले माओवादी केन्द्रका विष्टलाई पछाडि पार्दै विजयी हुनुभएको हो ।  

जिल्लाको पाख्रिबास नगरपालिका प्रमुख–उपप्रमुख पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका गुरुङ र उपप्रमुखमा एमालेका देउजा विजयी हुनुभएको छ प्राप्त परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङले पाँच हजार ४९८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँंका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर राईले पाँच हजार ५३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेका नम्रता देउजाले पाँच हजार ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँंका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले चार हजार ६४१ मत प्राप्त गर्नुभएको छ ।

छथरजोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छत्रबहादुर सुब्बाले चार हजार ३५९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका शेरबहादुर लिम्बूले चार हजार १६४मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष सुब्बाले १९५ मतान्तरले लिम्बुलाई पछि पार्दै विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।  

उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी गीता खेवाले चार हजार ३८७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका गोमा कार्कीले तीन हजार ६९१ मत प्राप्त गर्नुभएको छ । एमालेकी कार्कीलाई ६९६ मतान्तरले पछि पार्दै माओवादी केन्द्रकी खेवा विजयी हुनुभएको हो ।

महालक्ष्मी नगरपालिका अध्यक्षमा गठबन्धन तर्फका नेपाली काँग्रेसका ध्रुवराज रायले पाँच हजार ६६२ मत ल्याएर वियजी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका दीपक बुढाथोकीले चार हजार ४८३ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका रायले एक हजार १७९ मतान्तरले एमालेका बुढाथोकीलाई पछि पार्दै विजयी हुनुभएको हो । उपाध्यक्षमा नेकपा एमालेका मन्जु अधिकारीले चार हजार ७३९ मत ल्याएर विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रेम खड्काले चार हजार ३६९ मत प्राप्त गर्नुभएको छ । एमालेका अधिकारीले माओवादी केन्द्रका खड्कालाई ३७० मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।