• ८ मंसिर २०८१, शनिबार

चियाको इतिहास

blog

वर्तमान विश्वमा चिया पानीपछिको सर्वाधिक पिइने पेय पदार्थमा पर्दछ । विश्वका हरेक मानिसको घरमा प्रायः चिया बनाइएकै हुन्छ । हामीकहाँ पनि अधिकांश मानिसको दिनको सुरुवात चियाको चुस्कीबाटै सुरु हुने गर्छ । 

नेपाललगायत दक्षिण एसियाका साथै युरोप र अमेरिकामा चियाको प्रचलन धेरै पुरानो नभए पनि चीन, जापान र कोरियामा चियाको हजारौँ वर्ष पुरानो इतिहास  छ । चीन र जापानमा त चिया संस्कृतिको हिस्सा नै भएको छ ।

चीनबाट फैलिएर जापान, भियतनाम, इन्डोनेसिया, भारत, नेपाल, श्रीलङ्का, टर्की, इरान, केन्यालगायतका देशको बगानमा पुगेको चिया प्रशोधन र बजारीकरणपछि विश्वका सबै मुलुकको घरभान्सामा पुगेको छ । गाउँबस्तीका सामान्य पसलदेखि ठूला शहरका रेस्टुरेन्ट र स्टार होटेलको वेभरेज सूचीमा चिया समावेश छ । नेपाली समाजमा समेत चिया सामाजिक जीवनको अङ्ग बन्न पुगेको छ । विश्वका हरेक घर, रेस्टुरेन्ट र होटेलमा पुगेको चिया पिउने संस्कृतिको विकास कहाँ, कहिले र कसरी भयो भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ । 

चिया 

चियाको बोटको वैज्ञानिक नाम क्यामेलिया साइनेन्सिस हो । यो सदाबहार झाडी प्रजातिमा पर्दछ । यसको पातबाट हरियो, कालो सेतो प्रकारको चिया बन्छ । कालो र हरियो चिया दुवै क्यामेलिया साइनेन्सिसबाट बनेको हुन्छ । हरियो चिया कलिला मुना र टुसाबाट बनाइन्छ ।

चियाका पात सुकाएर अक्सिडेसन प्रक्रियाबाट कालो चिया बनाइन्छ । चियाको प्रशोधन प्रक्रियामा यसको प्रकार निर्धारण हुन्छ । पातमा पाइने क्याफिनका कारण चिया सुगन्धित हुन्छ । चिया पिउँदा त्यसमा पाइने क्याफिनले शरीरलाई ऊर्जा दिन्छ । 

उत्पत्ति 

चीनमा चिया पिउने गरिएको हजारौँ वर्ष पुरानो इतिहास छ । त्यहाँ चियाबारे विभिन्न भनाइ र किंवदन्ती प्रचलित छन् । सन् २०१६ मा हान सम्राट जिङको समाधिमा प्राप्त प्रमाण अनुसार चीनमा हान वंशका राजाले इसाको दुई शताब्दीअघि नै चिया पिउने गर्थे । उनीहरूले चियालाई औषधिका रूपमा प्रयोग गर्ने थाहा भएको छ ।  चियाबारे प्रचलित किंवदन्तीमा चियासँग चिनियाँ सम्राट सेनङको नाम जोडिएर आउँछ । २७३७ इसापूर्व चिनियाँ सम्राट थिए सेनङ । सम्राट सेनङ उमालेको पानी मात्रै पिउँथे । एक दिन उनी बगैँचामा रुखमुनि उमालेको पानी पिइरहेका बेला रुखको पात खसेर उनका लागि उमालेको तातोपानी भएको भाँडामा परेछ । तातोपानीमा पात खस्दा त्यसको रङ र स्वाद फेरिएछ ।

सम्राटले त्यही पानी पिएछन् । त्यो पानी पिउँदा सम्राटले फरक स्वाद महसुस गरे । पानी पनि सुगन्धित बनेछ । त्यसपछि उनी उमालेको पानी पिउँदा त्यही बिरुवाको पात राखेर पिउन थालेछन् । उनले त्यस पातको औषधीय गुणसमेत परीक्षण गर्न लगाएछन् । आफैँले पनि परीक्षण गरेछन् । परीक्षणबाट त्यो पात विष प्रतिरोधात्मक रहेको थाहा भएछ । 

त्यसपछि उनी त्यो पात उमालेर नियमित सेवन गर्न थालेछन् । पछि त्यो पात अरूले पनि उमालेको पानीमा हालेर पिउन थाले । चीनमा सम्राट सेनङले उमालेर पिउन थालेको बिरुवाको पात नै पछि चियाका नामले लोकप्रिय बन्न पुग्यो । 

चियाबारे लिखित अर्को चिनियाँ इतिहासमा हान वंशकालमा युवाले गर्नुपर्ने कामको सूचीमा ‘चिया उमालेर भाँडाहरू भर्नुपर्ने’ र ‘वुयाङबाट चिया किन्ने’ भन्ने भेटिएको छ । त्यसैगरी चीनमा हान सम्राट जुआन मङ पहाड (छेन्दुनजिक) मा चिया खेती गर्न लगाएका थिए । चीनमा ताङदेखि छिङ वंशका राजालाई हरेक वसन्त ऋतुमा मङ पहाडमा उत्पादित चियाको पहिलो ३६० पात उपहार दिनु पथ्र्यो ।

नामकरण

संसारमा सर्वप्रथम चिया पिउने संस्कृतिको विकास चीनबाट सुरु भएको मानिन्छ । चियाको उद्गमस्थल दक्षिण–पश्चिमी चीन तथा उत्तरी बर्माको सीमाक्षेत्रलाई मानिएको छ । चिया संस्कृति पछि चीनबाटै विश्वका अरू मुलुकमा स¥यो । चियासम्बन्धी चिनियाँ ताङ वंशमा लिखित सामग्री अनुसार ‘तु’ वर्णलाई ‘चिया’ भन्ने अर्थ लगाइएको छ । जसको अर्थ ‘तीतो’ भन्ने हुन्छ । चीनमा हान राजवंशसम्म आइपुग्दा यो शब्द ‘चा’ बन्न पुग्यो । चीनबाट चिया विश्वभर फैलिँदा स्थलमार्ग (रेशममार्ग) पुगेका ठाउँमा ‘चा’ तथा समुद्रीमार्गबाट पुगेको ठाउँमा ‘टी’ भन्न थालिएको बताइन्छ । आज पनि मध्यपूर्व, मध्यएसिया, दक्षिण तथा दक्षिण पूर्वी एसिया, पूर्वी युरोप, युरोपको पोर्चुगल, उत्तर अफ्रिका र दक्षिण अमेरिकी मुलुक ब्राजिलमा समेत चियाको उच्चारण ‘चा’ बाट सुरु हुन्छ । बाँकी युरोप, उत्तर अमेरिका, अस्टे«लिया, मध्य तथा दक्षिण अफ्रिकी मुलुकमा ‘टी’ भनिन्छ । अङ्ग्रेजी भाषामा ‘टी’ भन्दाअघि ‘चा’ नै भनिन्थ्यो । जुन शब्द सन् १५९० तिर मकाउमा व्यापार गर्ने पोर्चुगेलीले युरोप पु¥याएका थिए । 

डचहरूभन्दाअघि पोर्चुगेली एसियामा आउँदा उनीहरूले मकाउलाई व्यापार केन्द्र बनाएका थिए । ताइवानलाई फार्मोसा (सुन्दर द्वीप) नाम दिने पोर्चुगेली नै थिए तर पछि युरोपमा डचहरूले ‘टी’ शब्द भित्र्याए । त्यसपछि युरोप र अमेरिकामा ‘टी’ शब्द प्रचलित बन्यो । एसियाका इन्डोनेसिया, बर्मा, कम्बोडिया, श्रीलङ्का, भारतको तमिलनाडुमा पनि ‘टी’ भनिन्छ । बाँकी मुलुकमा चियाको उच्चारण ‘चा’ बाट हुन्छ । जस्तै जापानमा ‘होचा’ तथा चीन, कोरिया, थाइल्यान्ड, भियतनामलगायतका देशमा ‘चा’ भनिन्छ । 

भारतमा ‘चाय’, नेपालमा चिया । 

चिया चीनबाट रेशममार्ग हुँदै मध्यपूर्वका खाडी मुलुकमा पुगेपछि फारसीमा ‘चाय’ नामले परिचित भयो । त्यसपछि चियालाई हिन्दी र उर्दुमा ‘चाय’, अरबीमा ‘शाय’ भनियो । रुसीहरूले पनि चियालाई ‘चाय’ नै भन्छन् । अफ्रिकाको सबैभन्दा बढी चिया उत्पादक देश केन्याको स्वाहिली भाषामा  पनि चियालाई  ‘चाय’ भनिन्छ । यद्यपि चीन जस्तै चियाको प्राचीन खेती गर्ने बर्मामा भने चियालाई ‘लफने’ भनिन्छ । 

विश्वव्यापीकरण

इस्वी संवत्को आठौँ शताब्दीमध्यसम्म चिया संस्कृति दक्षिणी चीनमा सीमित थियो । चीनमा ताङ राजवंशको शासनकालमा चिया चीनबाहिर कोरिया, जापान र भियतनाम पुग्यो । छैटौँ शताब्दीको उत्तराद्र्धतिर बौद्ध धर्मसँगै चिया चीनबाट कोरिया पुगेको थियो । 

त्यसैगरी सन् ८०५ मा चीनको कला–संस्कृति अध्ययनका लागि आएका जापानी पुजारी र दूतहरूले चीनबाट चिया जापान पु¥याएका थिए । त्यसपछि जापानमा चिया धार्मिक वर्ग र राजपरिवारका सदस्यका लागि विशेष पेय पदार्थ बन्न पुग्यो । पश्चिमी अभिलेखमा चियाबारे सबैभन्दा पुरानो लिखत अरबी यात्रीको वर्णनमा उल्लेख छ । जसले सन् ८७९ पछि क्यान्टोनमा मुख्य आम्दानीको स्रोत नुन र चियाबाट आउने महसुल भनेर उल्लेख गरेका छन् । त्यसैगरी सन् १२८५ मा चियामा मनमानी कर वृद्धि गरेका कारण चिनियाँ अर्थमन्त्री बर्खास्त भएको कुरा मार्को पोलोले बताएका छन् । 

त्यसैगरी इटालियन यात्री जोआन रामुसियोले सन् १५५५ मा भोयज एन्ड ट्राभल्समा चियालाई चाइ (चाटाइ) भनेर उल्लेख गरेको देखिन्छ । १५ औँ शताब्दीमै पोर्चुगेली व्यापारी चीनमा आए । पोर्चुगेलीहरू सन् १५१६ मा चीन पुग्दा उनीहरू पहिलो पटक चियासँग परिचित भए । उपनिवेशकालको सुरुवातसँगै पोर्चुगेलीले युरोपलाई चियाबाट परिचित गराएका थिए । 

सन् १५५७ मा पोर्चुगलले चीनको मकाउमा व्यापारिक बन्दरगाह निर्माण गरेपछि चियाबारे पश्चिमा (युरोपेली) जानकार बने तर  पोर्चुगेलीले चिया युरोपमा धेरै प्रसारमा नल्याएको बताइन्छ । चिया सन् १६३६ मा फ्रान्समा प्रचलनमा आयो । युरोपमा चिया संस्कृति विस्तारको श्रेयचाहिँ डचहरूलाई जान्छ । १७ औँ शताब्दीको सुरुमा डच इस्ट इन्डिया कम्पनीले एक जहाजमा हरियो चिया पहिलो पटक चीनबाट नेदरल्यान्डस्को राजधानी एम्स्टर्डम पु¥याएको थियो । 

सन् १६१८ मा चीनले उपहारमा रुसी जार माइकल प्रथमलाई चिया दिन प्रस्ताव पठाएको थियो तर रुसी दूतले चियाको स्वाद तीतो महसुस गरेपछि रुसले चिनियाँ प्रस्ताव अस्वीकार ग¥यो । सोही कारण रुसमा चियाको आगमन ५० वर्ष ढिलो हुन गयो । 

युरोपमा डच र जर्मनहरूले चिया संस्कृतिलाई चाँडै आत्मसात् गरे । त्यसपछि मात्रै बेलायती चियाप्रति आकर्षित भएका थिए । त्यसको लगत्तै रुसमा पनि चिया संस्कृति विकास भयो । 

चिया १७ औँ शताब्दीको मध्यतिर युरोपका जर्मनीलगायतका मुलुकमा लोकप्रिय बन्न पुग्यो । जर्मनीमा चियालाई औषधिका रूपमा प्रयोग गर्न थालियो । बेलायतमा चियाले कफी हाउसहरूमा प्रवेश पायो । सन् १८३० को दशकमा बेलायता चियाको लोकप्रियता चुलिन पुग्यो । चीनबाट आयातित चिया तुलनात्मक रूपमा महँगो थियो । त्यसैबेला छिङ साम्राज्यले निर्यातमा कडिकडाउ ग¥यो । त्यसपछि बेलायतले चिनियाँलाई अफिमको लत बसाले । चीनमा अफिम तस्करी बढाउँदै कौडीको भाउमा चाँदी असुलेर चिया आयातमा प्रयोग गरे । सोही कारण चीनले अफिम युद्धसमेत बेहो¥यो । जुन युद्धको पछाडिको कारण थियो चिया । 

त्यसपछि बेलायत चिया उत्पादनमा चीनको वर्चस्व र एकाधिकार तोड्ने अभियानमा लाग्यो । अनि उनीहरूले सुरु गरे आफ्ना औपनिवेशिक मुलुकमा चियाको व्यावसायिक खेती । 

बेलायतीले चिया उत्पादनका लागि उपयुक्त हावापानी रहेका भारत, श्रीलङ्का, बर्मा, केन्यालगायतका मुलुकमा चीनबाट चियाका बोट आयात गरी व्यावसायिक खेती सुरु गरे । पूर्वोत्तर भारतको असम, दार्जिलिङमा ठूल्ठूला चिया बगान सुरु गरियो । जुन बगान अहिले पनि अस्तित्वमै छन् । ती कतिपय चिया बगानमा कामदार बेलायतीले नेपालबाट समेत ओसारेका थिए । 

नेपालमा चिया खेती

बेलायतीले दार्जिलिङमा चिया बगान सुरु गरेपछि नेपालको इलाममा चिया खेती सुरु गरिएको थियो । प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा पूर्वी नेपालको गभर्नर–जनरल रहेका उनका छोरी ज्वाइँ कर्णेल गजराजसिंह थापाले दार्जिलिङ भ्रमणका क्रममा चिया पिउँदा त्यसबाट प्रभावित भई इलाममा चिया खेतीको योजना अघि बढाएका थिए । 

सो कुरा प्रधानमन्त्री जङ्गबहादुरमा जाहेर गरेपछि उनले इलामको केही भूभागमा चिया खेती सुरु गर्न लगाए । भनिन्छ इलाममा सुरुमा रोपिएका चियाको बिरुवामध्ये केही चीनका सम्राटले प्रधानमन्त्री जङ्गबहादुरलाई उपहार दिएका थिए । बाँकी बिरुवा भने दार्जिलिङबाट आयात गरिएको थियो ।   –युवामञ्च   

Author

रतन भण्डारी