लागोस, मङ्सिर ६ गते । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले सुरक्षा जोखिम झनै गम्भीर बन्दै गएको छ ।
गत एक हप्तामा दोस्रो पटक सामूहिक विद्यालय अपहरण भएको प्रकरणमा कुल ३१५ जना विद्यार्थी तथा शिक्षक अपहरणमा परेको तथ्याङ्क पुष्टि भएको नाइजेरियाको क्रिश्चियन एसोसिएसनले शनिबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
मध्य नाइजेरियाको नाइजर राज्यस्थित सेन्ट मेरी स्कूलमा शुक्रबार बिहानै सशस्त्र बन्दुकधारीको समूह छिरेर ठूलो सङ्ख्यामा विद्यार्थी तथा शिक्षकलाई अपहरण गरेको बताइन्छ । यसअघि छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा पनि यिनै समूहले आक्रमण गरी २५ जना बालिकालाई अपहरण गरेका थिए ।
क्रिश्चियन एसोसिएसनका अनुसार ‘प्रमाणीकरण अभ्यास सम्पन्न भएपछि’ नयाँ विवरण सार्वजनिक गरिएको हो, जसअनुसार ‘अपहरण गरिएका पीडितको कुल सङ्ख्या अहिले ३०३ विद्यार्थी र १२ शिक्षक गरी ३१५ पुगेको’ उल्लेख छ । विद्यालयमा भर्ना भएका ६२९ विद्यार्थीमध्ये करिब आधा अपहरणमा परेका हुन्, जसले अभिभावक र स्थानीय समुदायलाई त्रसित पारेको छ ।
क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायीरूपमा बन्द गर्न आदेश दिएका छन् । नाइजर राज्य सरकारले समेत धेरै विद्यालय बन्द गर्दै कडा सुरक्षा सतर्कता अपनाएको छ । यता, राष्ट्रिय सङ्कट गहिरिँदै गएपछि राष्ट्रपति बोला टिनुबुले जोहानेसबर्गमा हुँदै गरेको जी-२० शिखर सम्मेलनसहित अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरी देशभित्रै बस्ने निर्णय गर्नु भएको छ ।
नाइजेरियामा इसाई समुदायमाथि निशाना बनाइएका हिंसात्मक घटनामा पनि वृद्धि भएको स्थानीय समूहले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीद्वारा इसाईको हत्या भइरहेको दाबी गर्दै सैन्य हस्तक्षेपको चेतावनी दिएको केही दिनमै देशको पश्चिमी क्षेत्रमा दुई वटा चर्चमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको र समान समयमा दुई नयाँ अपहरण अभियान भएको रिपोर्ट प्राप्त भएको छ ।
नाइजेरियामा विद्यालय लक्षित अपहरणको इतिहास झनै पीडादायी छ । करिब एक दशकअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीले करिब ३०० बालिकालाई अपहरण गरेको घटना आज पनि नाइजेरियाली जनमानसमा गहिरो घाउका रूपमा रहेको छ । तीमध्ये केही बालिका अझैसम्म पनि हराइरहेका छन्, जसले वर्तमान घटनालाई झनै भयावह बनाएको छ । रासस/एएफपी