• २ कात्तिक २०८१, शुक्रबार

उपसभामुख र हेबेई प्रान्तीय जन कांग्रेस स्थायी समिति उपाध्यक्षबिच भेटवार्ता

blog

उपसभामुख इन्दिरा रानासँग भेटवार्ता गर्नुहुँदै चीनको हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष झाङ मेइझी । तस्बिर : उपसभामुखको सचिवालय

काठमाडौँ, कात्तिक १ गते । उपसभामुख इन्दिरा राना र चीनको हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष झाङ मेइझीबिच भेटवार्ता भएको छ ।

चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको सदस्यसमेत रहनुभएका हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझी र उपभामुख रानाबिच बिहीबार संसद् सचिवालयस्थित उपसभामुख रानाको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटमा उपसभामुख रानाले चीन र चिनियाँ जनताले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै चीन सधैँ नेपालको भरपर्दो साझेदार रहेको बताउनुभयो । उहाँले नेपालमा दैवी प्रकोपलगायतका कठिन घडीमा चिनियाँ पक्षबाट प्रदान गरिएको उदार सहयोगको कदर गर्दछौं भन्नुभयो । 

‘‘हाम्रो सदियौं पुरानो मित्रता र लामो समयदेखिको सहयोगलाई अभिवृद्धि गर्न नेपाल र चीनले सँगै काम गर्न सक्ने थुप्रै क्षेत्रहरू छन् ।’’ उहाँले भन्नुभयो, ‘‘हामी दुई देश र जनताको पारस्परिक हितमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान तत्पर छौं ।’’

नेपालको प्रमुख विकास प्राथमिकताहरूमा कृषि, जलविद्युत् र पूर्वाधार विकास, कनेक्टिभिटीका सबै मोड, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटन क्षेत्रहरू समावेश रहेको उल्लेख गर्दै उपसभामुख रानाले नेपालका प्राथमिकताका क्षेत्रहरूमा मिलेर काम गर्न सकिने धारणा पनि राख्नुभयो ।

उहाँले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धि, प्रगति र समृद्धिलाई सहयोग गर्ने उद्देश्यले विकासका प्राथमिकताका क्षेत्रमा चिनियाँ सहयोग र लगानीलाई नेपालले सधैं स्वागत गर्छौ भन्नुभयो । दुई देशका विचमा संसदीय अनुभव आदनप्रदानका लागि पनि यो भेट महत्त्वपूर्ण हुने उपसभामुख रानाले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले औद्योगिक क्षेत्रको रुपमा विकास भएको हेबेई प्रान्तमा वायु प्रदूषण र वातावरण संरक्षणका लागि गरिएका प्रयासका बारेमा पनि संसदीय टोलीसँग जिज्ञासा राख्नुभएको थियो ।

हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझीले चीनियाँ जनकांग्रेस र नेपालको सङ्घीय संसदका बिचमा संसदीय अनुभव आदानप्रदान हुँदै आएको चर्चा गर्दै अर्थतन्त्र, शिक्षा, पर्यटन  र सांस्कृतिक क्षेत्रमा नयाँ आधार तय गर्न चाहेको बताउनुभयो । उहाँले हेबेई प्राप्तमा भइरहेका विकास र परिवर्तन तथा पर्यटकीय सम्भावनाका क्षेत्रका बारेमा चर्चा गर्दै प्रान्तीय जनकांग्रेस र नेपालको संसदका बिचमा सहकार्य र अनुभव आदानप्रदान बढाउन सकिन्छ भन्नुभयो ।