• १३ पुस २०८१, शनिबार

भक्तपुरको तीन नगरमा काँग्रेस र एकमा नेमकिपाको अग्रता

blog

भक्तपुर, ३१ वैशाख (रासस)। भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली काँग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन्। नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली काँग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो। 

राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा काँग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गर्नुभएको छ। 

यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धामा हुनुहुन्छ। वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन्।  

त्यसैगरी चाँगुनारायणमा धेरै विवादका बीच बिहान ११ः३० बजेबाट वडा नं १ र २ बाट सुरु भएको मत गणनाअनुसार नेपाली काँग्रेसले सुरुदेखि नै अग्रता लिएको छ। चाँगुनारायण नगरको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ मत प्राप्त गर्दा एमालेका वीणा बाँस्तोलाको १२० मत ल्याउनुभएको छ। 

त्यस्तै उपप्रमुखमा एमालेका रमेश बुढाथोकीको १२९ मत आउँदा काँग्रेसका सुभद्रा काफ्लेले ११४ मत प्राप्त गर्नुभएको छ। वडाध्यक्षतर्फ दुबै वडामा एमालेले अग्रता लिएको जनाइएको छ। निर्वाचन अधिकृतको व्यवस्थापनको कमजोरीका कारण हिजो नै मतगणना सुरु गर्ने भनिए पनि आज ढिलो गरी मतगणना सुरु भएको बताइएको छ।

यस्तै मध्यपुरथिमि नगरको प्रमुखमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्याउँदा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नुभएको छ। उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९५७ मत ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

वडाध्यक्षतर्फ वडा नम्बर १ का नेपाली काँग्रेसको १ हजार ७५ मत र एमालेको ८२६ मत प्राप्त गर्नुभएको छ। यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छ भने मतगणना जारी रहेको जनाइएको छ। 

त्यस्तै नेमकिपाको पक्कड मानिएको भक्तपुर नगरमा भने एकै पटक तीन वटा वडाबाट मतगणना सुरु भएको छ। जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति दुई हजार १५ मत, एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले दुई हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नुभएको छ। 

भक्तपुरको चारवटै स्थानीय तहमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो।