• १७ असार २०८१, सोमबार

हेटौँडाका तीन वडामा कांग्रेसका उम्मेदवार विजयी

blog

राममणि दाहाल
हेटौँडा, वैशाख ३१ गते।
मकवानपुर जिल्ला शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको मतगणनामा वडामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ। भीमफेदी गाउँपालिका १, मनहरी गाउँपालिका १ र इन्द्रसरोवर गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। मतगणना शनिबार बिहानबाट सुरु भएको हो। कांग्रेसबाट भीमफेदी गाउँपालिका १ को वडाध्यक्षमा सोमबहादुर स्याङ्तान, मनहरी गाउँपालिका १ को वडाध्यक्षमा शिवप्रसाद खनाल र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सुवास थापा मगर विजयी बन्नुभएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा यी तीन वटै वडामा कांग्रेस नै विजयी भएको थियो। विजयी खनालबाहेक मगर र स्याङ्तान नयाँ अनुहार हुनुहुन्छ।

यसैबीच १० वटा स्थानीय तह रहेको मकवानपुरमा सबै स्थानीय तहमा मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो। मतगणना जारी स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्।

हेटौंडा उपमहानगरपालिकामा एक हजार ५० मत गणना हुँदा गठबन्धनका नगर प्रमुखका मीनाकुमारी लामा झिनो मतले अगाडि हुनुहुन्छ। नेकपा (एकीकृत समाजवादी) का लामाले ३८८, नेकपा एमालेका अनन्त पौडेलले ३७० र राप्रपाका दीपकबहादुर सिंहले ३४२ मत प्राप्त गर्नुभएको छ।

यसैगरी थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको हातसम्मको मतगणनाअनुसार गठबनधनका उम्मेदवार अगाडि रहेका छन्। 

हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मकवानपुरमा कुल मतदाता दुई लाख ९४ हजार २१९ मतदाता रहेकोमा दुई लाख १० हजार १०८ अर्थात ७१.२४ प्रतिशत मत खसेको थियो। जिल्लाको १० वटै पालिकामा रहेको मतगणनास्थलमा तारजालीसहित सुरक्षा व्यवस्था कडा गरिएको छ।

मतगणनास्थल हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ मावि। तस्बिरः राममणि दाहाल