• १० कात्तिक २०८१, शनिबार

दसैँमा सेतो टीका

blog

सेतो रङलाई प्राकृतिक रङ मानिन्छ । वैज्ञानिक अनुसन्धानबाट अन्य रङ तयार गरिएको हो ।  चाडपर्वमा रङ्गीबिरङ्गी वस्तुको प्रयोग हुने गरेको छ । निधारमा लगाउने टीकालाई शुभ मानिन्छ । टीका विभिन्न रङ मिसाएर बनाइन्छ । 

अधिकांशले निधारमा रातो रङको टीका लगाउँछन् । आदिवासी समुदायले रातो टीका खासै प्रयोग गर्दैनन् । तराईका आदिवासी थारू र पहाडमा केही आदिवासी मगर, गुरुङलगायतले पर्वमा रङ्गीबिरङ्गी नभई सेतो रङको टीका लगाउँछन् । उनीहरू सेतो टीकालाई शुभ मान्छन् । थारू समुदायले दसैँमा अभिभावकबाट प्रसादका रूपमा लगाउने टीका सेतो हुन्छ । 

थारू समुदायले दसैँमा चामलको पिठोसँग मुछेर बनाइने सेतो टीका, जमरा, दौना बेबुरी (बाबरी) फूल प्रयोग गर्छन् । दसैँमा बाहेक दौना बेबुरीको फूल प्रयोग गरिँदैन । थारूहरूले दसैँको टीका निधारका साथै पाखुरा, घुँडा, पैतालामा समेत लगाउँछन् । निधार दिमागका लागि तथा बलियो पाखुरा, घुँडा र पैताला कामका लागि हो भन्ने विश्वास गरिन्छ ।  

थारूले आफूलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँगै घुलमिल हुँदा धुलो माटोसँग उनीहरूको गहिरो प्रेम बसेको हुन्छ । कृषि पेसामा धुलो माटोसँग खेल्नुपर्ने भएर सेतो रङसँग उनीहरू नजिक हुन्छन् । थारू संस्कृतिका जानकार अशोक थारूले भन्नुभयो, “प्रकृति र आदिम जातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङ नहुँदा प्राकृतिक रङ सेतो मात्र थियो । त्यही रङ चलनचल्तीमा आएपछि प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजा गर्ने बेला पहिरिने कपडाको रङ पनि सेतो कायम भयो ।”

संस्कृतिका अनुसन्धानकर्ता सुशील थारूको भनाइ अनुसार सेतो रङ शान्तिको प्रतीक हो । थारू जाति शान्तिप्रेमी जाति भएकाले सेतो रङप्रति आगाध प्रेम गर्छन् । प्राचीनकालदेखि थारू जातिले आफ्नो देवीदेवतालाई गाईको दुध चढाएर पूजा गर्दैआएका छन् । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन बन्यो । थारू चेलीबेटीले सेतो रङको फरिया र गुन्यु लगाउने गर्छन् । चोली रङ्गीन हुने गरे पनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दसैँमा नाचिने विशेष नाच सखियामा समेत नर्तकीहरूले सेतो फरिया र गुन्यु प्रयोग गर्छन् । 

दसैँमा देवतालाई नभई नहुने परिकार ढिक्री हो । घरका सदस्यले परिकार खानुभन्दा पहिले देवीदेवतालाई चढाउँछन् । पितृपूजा र कुल देवतालाई पूजा गरिसकेपछि प्रसादका रूपमा ढिक्री खाने गरिन्छ । यो चामलको पिठोबाट तयार पारिन्छ । 

थारू समुदायको देवीदेवता काठ, फलाम र माटोले निर्माण गरिन्छन् । मैया (भगवती), शिवपार्वती, घोडाको आकारका देवतासमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारू समुदायले आफूलाई प्रकृतिपूजक मान्छन् । देवतालाई जल, दुध र रक्सी चढाइन्छ । यी सबै वस्तुको रङ सेतो नै हुन्छ । देवताले स्विकार्ने रङ सेतो हुन्छ भन्ने विश्वास छ ।

थारू समुदायमा जीवजन्तुको बलि दिइँदैन । बारीमा फलेको कुपिन्डोको बलि दिने प्रचलन छ । शाकाहारी पूजा सबैभन्दा पवित्र मानिन्छ । यद्यपि अहिले नयाँ पुस्ताले कुखुराको बलि दिने गरेको यदाकदा देखिन्छ तर त्यो पूजा पवित्र मानिँदैन ।  

सखिया नाच थारू समुदायको प्रमुख नाच हो । थारू चेलीहरूले लहरै लाइन लागेर मादलको तालमा नाच्ने गर्छन् । सखिया नाचमा विशेष किसिमको थारू गीत गाइन्छ । सखिया नाचको गीत महाभारतको कथामा आधारित छ । गीतको भाका लामो भएकाले कृष्ण जन्माष्टमीदेखि गाउन सुरु गरी दसैँमा अन्त्य गरिन्छ । मादले पुरुष हुने भए पनि नृत्य गर्ने सबै महिला हुन्छन् ।  

थारू समुदायले चार दिन दसैँ मनाउँछन् । चन्द्रमा (दुतिया) हेर्ने अर्थात् सप्तमी (घटस्थापना) को दिन जमरा राखिन्छ । दुतिया पनि कसैले घटस्थापनाको दिन हेर्छन् । जुन दिन दुतिया हेरिन्छ, त्यही दिन जमरा राखिन्छ । जमराका लागि मकै, जौ, मकैको प्रयोग गरिन्छ । सबैभन्दा पुरानो अन्न मकै भएकाले जमरा राख्दा मकै अनिवार्य हुन्छ । अष्टमीमा देवतालाई ढिक्री पुज्ने, नवमीमा पितृपूजा गर्ने गरिन्छ । दशमीमा अभिभावकबाट सेतो टीका र प्रसाद ग्रहण गरेपछि दसैँं सकिन्छ ।    

मुना

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।