• १४ वैशाख २०८१, शुक्रबार

कलाकारकाे मतदान

blog

काठमाडौं, वैशाख ३० गते । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि मतदान गर्दै आफ्नो मत देशको स्थायित्व र स्थिरताका लागि भएको बताएका छन् । विभिन्न मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै कलाकारहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

हाँस्य कलाकार मनोज गजुरेलले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै लेख्नुभएको छ, “हाम्रो भोट स्थानीय स्थायित्व र स्थिरताका लागि हो । हाम्रा जनप्रतिनिधि सेवक बनुन्, शासक नबनुन्”। 

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि बुढानीलकण्ठबाट मतदान गर्नुभएको हो । आचार्यले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेख्नुभएको छ, “मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?”

अभिनेत्री करिश्मा मानन्धरले पनि शीतल निवास अगाडि रहेको केन्द«मा मतदान गर्नुभएको छ । मतदान गर्न उहाँ श्रीमान विनोद र छोरी कवितासँगै केन्द्रमा पुग्नुभएको हो ।

यस्तै, कलाकार सरिता लामिछानेले आफूले मतदान गर्नुभएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मतदान गरेको जानकारी गराउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “मतदान मेरो अधिकार हो ।” 

साथै नायिका सञ्चिता लुईटेलले पनि बत्तिस पुतलीमा रहेको केन्द्रबाट मतदान गर्नुभएको जानकारी दिनुभएको छ ।