• २६ असोज २०८१, शनिबार

मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?

blog

काठमाडौं, असोज १ गते । दशैं भन्ने बित्तिकै मासुको पर्व भनेर बुझिन्छ । अघिपछि भन्दा दशैँमा मासुजन्य परिकारको खपत बढी  हुन्छ । मासु खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदजनक हुन्छ ।  

पोषणविद् प्रा.डा.उमा कोइरालाले मासुबाट शरीरको सामान्य विकासदेखि दैनिक कार्य गर्न आवश्यक पर्ने पोषण तत्व प्राप्त गर्न सकिने बताउनुहुन्छ । 

पोषणविद् कोइरालाका अनुसार मासुबाट प्रोटिन, भिटामिन, ओमेगा फ्याटी एसिड, जिङ्क आइरन जस्ता पोषण तत्व प्रसस्थमात्र प्राप्त गर्न सकिन्छ । 

दशैंमा मासु खाँदा संयमित भएर खान पोषणविद् डा.उमा कोइरालाको सुझाव छ । मासु खाँदा सन्तुलित भोजन मिलाएर खान सकेमा स्वास्थ्यमा फाइदा पुग्ने उहाँको भनाइ छ ।  

उहाँ भन्नुहुन्छ,“मासु मात्र खाँदा स्वास्थ्यमा नकारात्मक असर देखिन्छन् । मासुका साथमा हरियो सागपात, फलफूल, गाजर, काँक्रो, मुलाको सलाद समावेश गर्दा शरीरलाई आवश्यक पर्ने पोषण तत्व प्राप्त गर्न सक्छ ।” 

हाम्रो शरीरलाई काब्रोहाइड्रेड, भिटामिन, प्रोटिन, मिनिरललगायतका तत्वको आवश्यक पर्ने हुँदा सन्तुलित खानाबाट प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ । 

पकाएर लामो समय फ्रिजमा राखेर खाने चलन छ । लामो सयमसम्म फ्रिजमा राखेर मासु नखान उहाँको आग्रह छ । उहाँ भन्नुहुन्छ, “पकाएर राखेको मासु धेरै दिनसम्म राख्दा ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ । यस्तो मासु खाँदा जटिल स्वास्थ्य समस्या निम्तिने गर्छन् । त्यसैले लामो समयसम्म राखेर मासु नखानु नै उपयुक्त हुन्छ । ”  

 पोलेको, काँचो मासु सकेसम्म नखान आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पोलेको मासुमा विभिन्न किसिमका क्यान्सर बनाउने तत्व हुन्छ । काँचो, पोलेको मासु खानुभन्दा मासुमा झाेल राखेर खानु स्वास्थ्यका हिसाबले फाइदाजनक हुन्छ ।”

सुगर, प्रेसर, कोलेस्ट्रोल, कलेजो, मुटु दम, बाथका रोगीले मासु खाँदा धेरै विचार पुर्‍याएर खान उहाँको आग्रह छ । उहाँ भन्नुहुन्छ, “दीर्घ रोगीले बोसोरहित मासुमा झाेल राखेर खानु स्वस्थकर मानिन्छ ।” मासु खाँदा बोसोरहित कम चिल्लोको प्रयोग गरेको झाेल बनाएर खाँदा उपयुक्त हुने उहाँको भनाइ छ । 

मादकपदार्थ र सोडाजन्य पेयपदार्थ सेवन गर्दा पैसा र शरीर दुवैमा हानी पुर्‍याउने हुँदा सोडाजन्य पदार्थको सट्टा कागतीको सरबत, फलफूलको रस बनाएर पिउन उहाँको सुझाव छ । यसले मासुलाई पचाउन पनि मद्दत गर्छ ।

चाडवार्डको बेलामा खानापानको विषयमा केन्द्रित भइ गोरखापत्र अनलाइनका लागि पोषणविद् प्रा.डा. उमा कोइरालासँग गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही -केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।