• १५ कात्तिक २०८२, शनिबार

गाउँपालिकाका कर्मचारीबाट पाँच लाख ५५ हजार दान

blog

दान दिँदै गाउँपालिकाका कर्मचारीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक १४ गते । 
छिम्केश्वरी र बुढीमाई मन्दिर क्षेत्रको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आँबुखैरेनी गाउँपालिकाका कार्यालय पाँच लाखभन्दा बढि दान दिएका छन् । गाउँपालिका र यस मातहतका कार्यालय तथा आँबुखैरेनी अस्पतालमा कार्यरत कर्मचारी परिवारबाट शुक्रबार पाँच लाख पचपन्न हजार ५५५ रुपियाँ दान दिइएको हो  ।

गाउँपालिका कार्यालयका अनुसार उक्त दान रकम छिम्केश्वरी–बुढीदेवी माई मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन पूर्वाधार विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोगस्वरूप प्रदान गरिएको हो । आर्थिक संयोजक मनोजकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसोसम्म महायज्ञमा जम्मा एक करोड रुपैयाँ बराबरको दान सङ्लकन भएको छ ।

महायज्ञमा आँबुखैरेनी–३ का अणमान र सरस्वती श्रेष्ठले पाँच लाख ११ हजार १११ रुपियाँ, अमृत र गोमा केसीले पाँच लाख पाँच हजार पाँच सय ५८ रुपियाँ, समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान र इन्द्रमाया तामाङले पाँच लाख एक हजार एक सय एक रुपियाँ दान गर्नुभएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिले कुल १० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । महायज्ञ कात्तिक ८ गतेदेखि सुरु भएको महोत्सव १५ गतेसम्म सञ्चालन हुँनेछ । सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो–पार्किङ निर्माणमा प्रयोग गरिने समितिले जनाएको छ ।

समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।