रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १५ गते । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी (ठुलो) एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतमा जस्तै यसवर्ष पनि हरिबोधिनी एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने भएको हो । यस अवसरमा रेसुङ्गामा मेलासँगै महापोखरीमा स्नान र पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने छ ।
नेपालकै चार धाममध्येकै एक धाम पर्ने रेसुङ्गाको पोखरीमा नुहाउँदा भूलवश भएका पाप नष्ट हुने धार्मिक मान्यता रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । यहाँ देशका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु भक्तजन स्नान, पूजा–पाठ, दर्शन तथा भजन–कीर्तनमा सहभागी हुन आउछन् । मेलाको मुख्य आकर्षणमा महापोखरी स्नान, यज्ञशाला दर्शन, सिद्धस्थान (सानो रेसुङ्गा), विष्णुपादुका, रामकुवा, भ्यु–टावर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको दर्शन, भजन–कीर्तन र धार्मिक प्रवचनका कार्यक्रमहरु रहने छन् ।
धार्मिक आस्थासँगै सांस्कृतिक समृद्धिको प्रतीकका रुपमा स्थापित रेसुङ्गाधामको यो मेला व्यवस्थित र सफल बनाउनका लागि रेसुङगा संरक्षण समितिले सातवटा उपसमिति गठन गरेको छ । लक्ष्मीनारायणद्वारा निर्मित महापोखरीमा अयोध्याको सरयू नदी, प्रयागका गङ्गा, जमुना, सरस्वती, काशीकी भागीरथी, गया, कौशिकी, मुक्तिनाथ, कालीगण्डकी, मानसरोवरबाट ल्याइएको जल राखिएको महापोखरीको स्नान गर्नाले पनि ती सबै पवित्र नदीमा स्नान गरे बराबरको अनुभूति हुने र पुण्य प्राप्त हुने बताइएको छ। पवित्र मनले मागेको वर प्राप्त हुने ऐतिहासिक प्रमाण भएका कारणले पनि दैनिक रुपमा भक्तजन रेसुङ्गाधाममा रहेका मन्दिरहरुको दर्शनका लागि पुग्ने गर्छन् ।
यहाँ गुल्मीका विभिन्न स्थानका साथै अर्घाखाँची, पाल्पा, स्याङ्जा, र बागलुङजस्ता छिमेकी जिल्लाबाट समेत भक्तजहरु आउने गर्दछन् । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको दूरीमा अवस्थित रेसुङ्गाधामसम्म अहिले पक्की सडक पुगेकाले यात्रा सहज र आरामदायी बनेको छ । रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । रेसुङ्गा प्राकृतिक सुन्दरताका साथ धार्मिक आस्थाको संगम बन्दै गएको छ ।