• १३ वैशाख २०८१, बिहिबार

बढ्यो आन्तरिक उडान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । पर्यटकीय सिजन र निर्वाचनका कारण अहिले आन्तरिकतर्फको उडान कोरोना महामारीपूर्वकै अवस्थामा पुगको छ । आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउसँगै निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत नाघेको छ । 

चुनाव नजिकिएसँगै पछिल्लो चार दिनमा मात्रै आन्तरिकतर्फ एक हजार तीन सय उडान तथा अवतरण भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पछिल्लो चार दिनको अवधिमा ७० हजार यात्रुले आन्तरिक हवाई उडानको प्रयोग गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ वैशाख २४ गतेयता दैनिक ३१० देखि ३१६ सम्म उडान भइरहेका छन्, अहिले दैनिक १४ हजारभन्दा बढीले हवाई सेवा लिइरहेका विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च महिनामा मात्रै चार लाखभन्दा बढी यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए, जुन सन् २०२२ यताकै सबैभन्दा बढी हो । अहिले निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने र भित्रिनेको सङ्ख्या बढेकाले यो महिनामा विमानस्थल प्रयोग गर्नेको सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।

विमानस्थल कार्यालयका अनुसार सन् २०२० को जनवरीमा तीन लाख ५० हजार, फेब्रुअरीमा तीन लाख ६० हजार र मार्चमा चार लाख ३५ हजार यात्रुले आन्तरिकतर्फको हवाई यात्रा गरेका छन् । जेठ १ गतेदेखि केही तराईका विमानस्थलमा बिहान ६ बजेदेखि राति ११ बजेसम्मै उडान गर्ने तयारीले आन्तरिक उडानको सङ्ख्यासमेत थपिन सक्ने अपेक्षा गरिएको छ ।