काठमाडौँ, वैशाख ८ गते । विद्युतीय गाडीको आयात घटेको छ ।
चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो ।
गत वर्ष ९ महिनामा सात हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर सात हजार १७३ युनिटमा सीमित भएको छ ।
चालु आवमा कुल १६ अर्ब ६६ करोड बराबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपियाँ राजश्व पाएको छ ।
चालु आ.व.मा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाट माथिका ८ युनिट इभी भित्रिएका छन् ।
चालु वर्षमा इभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा चार हजार १४० युनिट पेट्रोल कार आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल दुई हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो ।
बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन सङ्कट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको सङ्ख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।