• ३ जेठ २०७९, मङ्गलबार

अन्तर्राष्ट्रिय नर्सिङ दिवस

नेपालमा नर्स परिचालन र व्यवस्थापनमा ठूलो विविधता

blog

काठमाडौं, वैशाख २९ गते। नेपालमा करीब ९५ हजारभन्दा बढी नर्सहरु र अनमीहरु नेपाल नर्सिङ परिषद्को अभिलेखमा दर्ता भएका छन्। स्वदेश तथा विदेशबाट अध्ययन गरी वार्षिक करीब आठ हजार नयाँ नर्सिङ तथा दक्ष प्रसूतिकर्मी (मिडवाईफ्री) जनशक्ति थपिने गरेको परिषद्को तथ्याङ्कले देखाउँछ ।  नेपालमा उत्पादित नर्सहरुको पनि सहि सदुपयोग नभएको सरोकारवाला निकायहरुले गुनासो गर्दै आएका छन्। 

नेपालमा नै यति ठुलो सङ्ख्यामा नर्सिङ जनशक्ति उत्पादन हुने भए पनि विभिन्न अस्पतालहरुमा नर्सिङ जनशक्तिको परिचालन र व्यवस्थापनमा ठूलो विविधता देखिएको नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तथा प्राध्यापक तारा पोखरेल बताउनुहुन्छ। 

सरकारसँग अहिलेसम्म निजी र सरकारी अस्पतालमा कति नर्सिङ जनशक्ति कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा सरकारी अस्पतालमा १२ हजार नर्स र मिडवाईफ्रीको दरबन्दी कायम छ। सरकारी दरबन्दी अनुसार नर्सहरु कार्यरत नभएको पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार निजी अस्पतालमा २२ हजार नर्सहरु कार्यरत रहेको अनुमान छ। 

अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य सङ्गठन अनुसार नर्सिङ जनशक्तिको विकासको लागि योजना र रणनीति अद्यावधिक रुपमा तय गर्नुपर्ने हुन्छ। तर नेपालका सरकारी र निजी एव्म विश्वविद्यालय प्रतिष्ठान र शिक्षण संस्थाहरुमा नर्सिङ जनशक्ति विकासका योजना उपलब्ध छैनन्। 

 स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्यूनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा प्रति चार देखि छ शय्यामा एकजना नर्स, ईमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शय्यामा एक जना नर्स, सघन उपचार कक्ष (आइसियुमा, एन आई सी यू, सीसी यू)आदि मा प्रति शय्या एक जना नर्स र प्रसूति कक्षको लेवर वेडमा प्रति महिला दुई नर्सको आवश्यकता पर्छ। 

 एस वी ए तालिम प्राप्त नर्स वा मिडवाईफ्रीको हिसाबले नर्सिङ जनशक्ति व्यवस्था गरिनु पर्ने पूर्वअध्यक्ष पोखरेल बताउनुहुन्छ। नर्सहरु  बिदामा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्तिको आवश्यक पर्ने अध्ययनले देखाएको छ। 

तर सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थाहरुमा तोकिएका नर्स र बिरामीको अनुपातमा नर्सिङ जनशक्ति परिचालन गरेको पाइएको छैन।  प्राध्यापक पोखरेलका अनुसार धेरै जसो सरकारी अस्पतालमा विशिष्टिकृत नर्सको दरबन्दी छैन। त्यसैले दक्ष नर्सहरु सरुवा हुँदा आफ्नो सीपको प्रयोग गर्न नपाएको अवस्था छ। यसले गर्दा दक्ष जनशक्तिको सदुपयोग हुन नसकेकाले सेवाको गुणस्तर पनि प्रभावित हुने अवस्था रहेको प्राध्यापक पोखरेलको भनाइ छ। 



  नर्सिङ तथा मिडवाइफ्री सम्बन्धी १० वर्षे रणनीति 

सरकारले नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको विकास र विस्तारका लागि १० वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले २०७७/७८ देखि २०८७/८८ सालसम्मका लागि १० वर्षे रणनीति ल्याएको हो। 

 गुणस्तरीय नर्सिङ मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच भन्ने भावी सोचका साथ उक्त रणनीति ल्याएको महाशाखाले जनाएको छ। 

रणनीतिमा स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँचका लागि नर्सिङ तथा मिडवाईफ्री सेवाको गुणस्तरमा अभिवृद्धि गरी जनशक्तिको व्यवस्थापन गर्ने उल्लेख छ। 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नर्सिङ तथा मिडवाइफ्री शिक्षा प्रणालीको सुदृढीकरण गर्दै गुणस्तर अभिवृद्धि गर्ने। नर्सिङ तथा मिडवाइफ्री शिक्षा र सेवाको नियमन,अनुगमन र सुपरिवेक्षण प्रणालीको विकास र विस्तार गरी नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्य रहेको छ। 

नेपालमा कति नर्सिङ तथा मिडवाइफ्री आवश्यक 

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड,२०७५ अनुसार नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र अनुसार आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति २० हजार २१४ जना आवश्यक रहेको देखिएको छ। जसमा  स्टाफ नर्स १७ हजार  ८१४ र मिडवाइफ दुई हजार चार सय आवश्यक देखिएको छ। 

बर्थिङ सेन्टर कति आवश्यक 

नेपाल भरका बर्थिङ सेन्टरसहितका आधारभूत स्वास्थ्य केन्द्र एक हजार दुई सय छन्। जसमा प्रति केन्द्रमा स्टाफ नर्स र मिडवाइफ गरी पाँच जना जनशक्ति आवश्यक देखिएको छ। मापदण्ड अनुसार स्टाफ नर्स प्रति केन्द्रमा  तीन जनाको दरले तीन हजार छ सय आवश्यक पर्छ।  त्यसैगरी, मिडवाईफ प्रति केन्द्रमा दुई जना गरी दुई हजार चार सय चाहिने देखिएको छ। 

बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र

नेपाल भरका बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र मा चार हजार ७३८ रहेका छन्। प्रति केन्द्र तीन जना स्टाफ नर्स आवश्यक भएको देखिएको छ। जसअनुसार,चार हजार  ७३८ केन्द्रमा १४ हजार २१४ जना स्टाफ नर्स आवश्यक देखिएको छ। 

विशिष्टिकृत अस्पतालका कति जनशक्ति आवश्यक

विशिष्टिकृत अस्पतालको शय्या अनुसार छ हजार ६५० जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक पर्छ। पाँच सय शय्याको कान्ति बाल अस्पतालमा ९३२ जना नर्सिङ जनशक्ति आवश्यक पर्छ।  

पाँच सय शय्याको प्रसूति तथा स्त्री रोग अस्पतालमा एक हजार ८२ जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक भएको देखिएको छ।   त्यस्तै,तीन सय शय्याको मानसिक अस्पतालमा ४३७ जना नर्सिङ जनशक्ति आवश्यक भएको देखिएको छ।  दुई सय शय्याको भक्तपुर क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शय्याको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक देखिएको छ। 

दुई सय शैय्याको जी पि कोइराला श्वासप्रश्वास अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ  भने दुई सय शय्याको  नरदेवी आयुर्वेदिक अस्पतालमा २२३ जना नर्स आवश्यक देखिएको छ।  ५० शैय्याका सात वटा प्रदेशिक सरुवा रोग अस्पतालमा ५७४ जना नर्स आवश्यक रहेको अध्ययनले देखाएको छ। तीन सय शय्याको राष्ट्रिय सरुवा रोग अस्पतालमा ४३५ जना नर्स, सातवटा ५० शय्याका प्रादेशिक ट्रमा सेन्टरमा सात सय जना नर्स आवश्यक देखिएको छ। 

पाँच सय शय्याका राष्ट्रिय ट्रमा सेन्टरमा ९३२ जना नर्सको आवश्यकता छ। अस्पतालको शैय्या अनुसार जम्मा २६ हजार ९१० जना आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यक भएको अध्ययनले देखाएको छ।

‘नर्सहरु नेतृत्व गर्ने एउटा आवाज, नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्रित गर्न अधिकारहरुको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पारेर हरेक वर्ष मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ।  



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।