• २२ पुस २०८२, मङ्गलबार

शीतलहर र हिमपातको जोखिम

स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

blog

काठमाडौँ, पुस २१ गते । देशको विभिन्न भूभागमा चिसो बढ्दै जाँदा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ। जाडोयाममा तापक्रम घट्दा स्वास्थ्यमा असर पर्न थालेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्क ( हाइपोथर्मिया ) जस्ता समस्या स्वास्थ्य देखिन थालेका छन् । 

पछिल्ला वर्षहरूमा जाडोयाममा वायु प्रदूषण बढ्ने हुँदा मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पर्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ स्वास्थ्य समस्या निम्तिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ ।

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, स्वर बस्ने, कोल्ड डाइरिया हुने, चिसोको कारणले वान्ता हुनेजस्ता स्वास्थ्य समस्या लिएर बिरामी पुग्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरलजन्य समस्याले दु:ख दिने बताउनुहुन्छ । त्यो बाहेक जाडोमा रोटा भाइरस, कोल्ड डाइरिया, रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, निमोनिया, दम लगायतका स्वास्थ्य समस्या निम्तिने गर्छन् । 

उहाँ भन्नुहुन्छ, “मौसम परिवर्तनसँगै मौसमी फ्लु, कोल्ड डाइरिया, रुघाखोकी, दम, घाँटी खसखस गर्ने, भाइरल इन्फेक्सन, निमोनिया, रोटा भाइरस, झाडापखाला, बान्ता हुने टाउको दुख्ने एलर्जी हुनेजस्ता स्वास्थ्य समस्या लिएर अस्पतालमा पुग्ने गर्छन् ।” 

जाडोमा चिसो हावा, घाम कम लाग्ने, बन्द कोठामा धेरै समय बिताउने र भीडमा जाँदा भाइरस र श्वासप्रश्वाससँग सम्बन्धित समस्या निम्तिने डा. पुनको भनाइ छ । बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू, रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा हुन्छन् ।

जाडोमा देखिने स्वास्थ्य समस्या 

रुघाखोकी 

जाडो मौसममा विभिन्न श्वास प्रश्वाससम्बन्धी विभिन्न समस्या देखिने गर्दछ । जाडोमा बढी धुलो धुवाँले यस्तो समस्या बढी मात्रामा देखिने डा. पुन बताउनुहुन्छ ।

 भाइरस सक्रिय हुने भएकाले नाकबाट पानी बग्ने, हाछ्युँ आउने, घाँटी दुख्ने, ज्वरो आउने, दुई हप्ता वा सोभन्दा बढीसम्म सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिने डा. पुनको भनाइ छ ।  

मौसमी फ्लु 

डा. पुनका अनुसार मौसमी फ्लु विशेषगरी जाडो मौसममा बढी देखिने गर्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । भाइरसजन्य सङ्क्रमणले सबै उमेर समूहका मानिसलाई दुःख दिने भए पनि दीर्घरोगी, गर्भवती वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु यसको जोखिममा बढी पर्ने डा. पुन बताउनुहुन्छ ।

मौसमी फ्लु ‘ए’, ‘बि’, ‘सी’, ‘डी’  गरी चार प्रकारका हुन्छन् । बर्ड फ्लु, स्वाइन फ्लु र हङ्कङ फ्लुमा कडा लक्षण देखिने डा. पुनको भनाइ छ । फ्लुलाई सामान्य रुघाखोकी त हो नि भनेर धेरैले हेलचेक्राइँ गर्ने गर्दछन् । कडा खालको निमोनिया देखिएर मानिसको मृत्युसमेत हुने भएकाले हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव छ । 

कोल्ड डाइरिया 

जाडोमा विशेषगरी बालबालिकामा देखिने समस्या कोल्ड डाइरिया हो । कोल्ड डाइरिया रोटा भाइरसका कारणले देखिन्छ । यो भाइरस जाडो मौसममा सक्रिय हुने चिकित्सको भनाइ छ । कोल्ड डाइरिया बालबालिकाहरुको मृत्यु हुने मुख्य कारणमध्येको एक हो ।

 रोटा भाइरसबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका प्रभावित हुने गर्छन् । यसलाई हेलचेक्राइँ गर्दा बिरामीको ज्यानै जान सक्ने चिकित्सक बताउँछन् ।जाडो मौसममा नोरा भाइरसका कारणले गर्दा झाडापखाला लाग्ने बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन् । सरकारले रोटा भाइरस विरुद्धको खोप नियमित खोपमा समावेश गरी निःशुल्क दिँदैआएको छ।

निमोनिया 

जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई निमोनियाको समस्याले दु:ख दिने गर्छ । निमोनिया फोक्सोमा हुने सङ्क्रमण रोग हो । निमोनिया ब्याक्टेरिया, फङ्गल र भाइरसको कारणले लाग्ने गर्छ । उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, कोखा हान्ने, नाक थुनिएर मुखले सास फेर्नेजस्ता लक्षण देखिन्छन् ।

ब्रोंकाइटिस 

यो समस्या भाइरस र ब्याक्टेरियाका कारणले बढी देखिने गर्छ । चिसो हावा र सङ्क्रमणका कारण फोक्सोको नली सुन्निएर लामो समयसम्म खोकी लाग्ने समस्या निम्त्याउँछ । 

दम

चिसो हावा, धुलो र प्रदूषण धूमपान, दीर्घ श्वासप्रश्वास समस्या भएका मानिसलाई दमको समस्याले जाडोमा बढी दुःख दिन्छ । दम भएका मानिसलाई श्वासनली साँघुरो भएर वा सुन्निएर श्वास फेर्न गाह्रो हुने, घ्यार-घ्यार हुने, खोकी लाग्नेजस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।

कतिपय अवस्थामा एलर्जीले गर्दा पनि दम हुनेगर्छ । चिसोमा तापक्रम परिवर्तन हुँदा सिगान, खकार बन्ने प्रक्रिया बढी हुने हुँदा श्वासनली हुँदै फोक्सोसम्म इन्फेक्सन भई श्वासनली साँघुरो वा सुन्निएर राम्रोसँग अक्सिजन जान नपाई दम बढ्ने गर्छ । 

उपचार 

सतर्कता अपनाए जाडोमा देखिने श्वासप्रश्वास र भाइरसजन्य रोगबाट बच्न सकिन्छ । जथाभावी औषधी किनेर नखान डा. पुनको आग्रह छ ।उहाँ भन्नुहुन्छ, “रुघाखोकी लाग्नसाथ आफूखुसी औषधी खाने प्रचलन बढ्दै गएको छ । सामान्य रुघाखोकी लाग्नासाथ एन्टिबायोटिक खाँदा थप जटिल स्वास्थ्य समस्या निम्तिने हुँदा चिकित्सकको परामर्शबिना औषधी नखानु उपयुक्त हुन्छ ।” 

दीर्घरोगीले सामान्य रुघाखोकी लाग्नसाथ चिकित्सक परामर्श लिन उहाँले अनुरोध गर्नुभयो। सामान्य मानिस सङ्क्रमित भएमा झोलिलो खानेकुरा खाँदै घरमा आराम गर्दा आफैँ निको हुँदै जान्छ । औषधी खानै परेमा स्वास्थ्यकर्मीको परामर्शमा मात्रै खान उहाँको सुझाव छ । 

बच्ने उपाय 

चिसोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले अतिरिक्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको सुझाव  । 

उहाँले चिसोबाट बच्न शरीरको सबै भाग ढाकिनेगरी बाक्लो तथा न्यानो लुगा लगाउन, कोठालाई न्यानो राख्दै पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउन, आमाको दुध खाने उमेरका बालबालिकालाई नियमित स्तनपान गराउन र सबै उमेर समूहले तातो तथा पोषिलो खाना पर्याप्त मात्रामा सेवन गराउन आग्रह गर्नुभयो ।

जाडो मौसममा धूमपान तथा मद्यपान नगर्न उहाँको आग्रह छ । धूम्रपान तथा मद्यपानले श्वासप्रश्वास तथा हृदयरोगसम्बन्धी समस्या बढाउन सक्छ। त्यसैगरी, कोठाभित्र आगो, हिटर, मकल, कोइला ब्रिकेटजस्ता बालेका अवस्थामा झ्यालढोका पूर्णरूपमा बन्द नगर्न र बालबालिकालाई आगो बालिएको स्थानमा एक्लै नछोड्न उहाँको आग्रह छ । यसो नगर्दा श्वास फेर्ने नलीमा असर पर्नुका साथै ज्यानसमेत जोखिममा पर्न सक्छ । 

खोक्दा हाच्छिउँ गर्दा मुख र नाक छोप्न, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त पौष्टिकयुक्त र झोलिलो खानेकुरा खान, सम्भव भएसम्म बिरामी हुँदा घरमै आराम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । हातले आँखा, नाक वा मुख नछुन सरुवा रोग विशेषज्ञ डा. पुनकाे आग्रह छ । 

न्यानो लुगा लगाउन, धुवाँ–धुलोबाट जोगिन, पोषणयुक्त सन्तुलित आहार लिन, भिटामिन ‘सी’ युक्त फलफूल तथा मौसमी ताजा खाद्यवस्तु सेवन गर्न, सरसफाइमा ध्यान दिन । श्वासप्रश्वासजन्य रोगबाट बच्न भीडभाडमा मास्क प्रयोग गर्न आग्रह गर्नुभयो । 

ज्वरो आउनु, खोकी लाग्नु, दम बढ्नु, सास फेर्न गाह्रो हुनु, छाती दुख्ने वा लामो समयसम्म खोकी लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउन उहाँको अनुरोध छ।

जोखिम समूहलाई फ्लु, निमोनिया, रोटा भाइरसविरुद्धको खोप लगाउन उहाँको सुझाव छ । खोप लगाउँदा सङ्क्रमण भए पनि यसबाट हुने जोखिम कम हुन्छ ।   

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।