• ८ फागुन २०८२, शुक्रबार

गाउँको समस्या सुनाउन उम्मेदवार पर्खंदै मतदाता

blog

भोट माग्न आउने उम्मेदवार पर्खंदै सीमाक्षेत्रको पशुपति टोल । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता 

बबई (बर्दिया) फागुन ८ गते । फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न आतुर रहेका मतदाताले आफ्नो माग सम्बोधन गर्ने उम्मेदवारलाई मतदान गर्ने मनसाय बनाएका छन् । अहिले बर्दियाका गाउँ गाउँमा मतदाता राजनीतिक दलका उम्मेदवार पर्खेर बसिरहेका छन् । 

विगतका निर्वाचनमा जस्तो यस पटकको निर्वाचनमा उम्मेदवारले स्थानीय मतदाताको मत पाउन प्रतिबद्धता जाहेर गर्नुपर्ने देखिएको छ । मतदाताले उम्मेदवार गाउँमा आउँदा स्थानीयको समस्या समाधानको विकल्पसमेत लिएर आउनुपर्ने राय व्यक्त गर्न थालेका छन् । बर्दियाको गुलरिया नगरपालिका–१, नेपाल–भारत सीमाक्षेत्र १० नं. गाउँका स्थानीयले मतदाताको माग सम्बोधन गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका हुन् ।

नेपाल–भारत सीमाक्षेत्रनजिकै रहेको १० नं. गाउँमा अहिले पनि भारतीय जनावरले निकै दुःख दिने गरेको छ । बाघ, चितुवालगायतका जनावर गाउँ पस्दा स्थानीयले सास्ती बेहोर्नु परेको बताएका छन् । अहिलेसम्म कोही उम्मेदवार उक्त गाउँमा नपुगे पनि गाउँ पुग्ने उम्मेदवारले मतदातालाई वाचा गरेमा मात्र मतदान गरिने स्थानीयको भनाइ छ । गुलरिया नगरपालिका–१, १० नं. गाउँका स्थानीय शिवराज सुवेदीले सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयको पीडा बुझ्ने उम्मेदवारलाई मात्र मत हाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा मात्र मत माग्न आउने उम्मेदवारलाई अब मत हाल्न सकिँदैन, स्थानीयको पीडामा मलम लगाउने उम्मेदवार नै हामीलाई चाहिन्छ ।” भारतीय सीमाक्षेत्रमा पर्ने कर्तनिया वन्यजन्तु आरक्षबाट वन्यजन्तु गाउँ पस्दा अहिले पनि १० नं. गाउँका स्थानीय त्रासमा छन् । 

स्थानीय चम्पा खड्काले आफूहरू घरभित्र थुनिनु परेको र बाहिर निस्कँदा वन्यजन्तुले लैजाने डर भएको बताउँदै निर्वाचनमा मत माग्न आउनेले यो समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने बताउनुभयो । भारतीय वनक्षेत्रनजिकै रहेको १० नं. गाउँ दिनरात वन्यजन्तुकै त्रासमा हुने गर्दछ । १० नं. गाउँका स्थानीय खडकबहादुर खत्रीले गाउँघरमा निकै समस्या भएको र त्यसको समाधानमा कसैले चासो नदिएका कारण गाउँको विकाससमेत नभएको बताउनुभयो । 

गुलरिया नगरपालिका–१ को १० नं. गाउँमा चुनाव प्रचारप्रसारसमेत देखिएको छैन । गाउँका स्थानीय भने उम्मेदवार पर्खेर बसेका छन् । उम्मेदवार आउलान् र आफ्नो माग सुनाउँला भनेका मतदाताले अबको १५ दिनमा मतदान गर्नुपर्ने छ तर उम्मेदवार गाउँमा नआए आफूहरू मतदान गर्ने मनस्थितिमा समेत नरहेको उनीहरूको भनाइ छ ।