सुर्खेत समाचारदाता
सुर्खेत, फागुन ८ गते । सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका पाँच जना उम्मेदवारले जिल्लाको विकास निर्माणमा पुरानै योजनाको प्रतिबद्धता दोहोर्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भुल र स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले एकै ठाउँबाट जिल्लाको विकास र समृद्धिका लागि उही पुरानै योजना दोहोर्याएका हुन् । सुर्खेत महिला जेसिजले बुधबार प्रश्न तपाईंको जवाफ उम्मेदवारसँगको प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरी पाँच उम्मेदवारलाई एकै ठाउँमा राखेको थियो ।
सुरुङमार्गको गुरुयोजना बनाउने, विद्युत् नपुगेका बस्तीमा विद्युत् दिएर उज्यालो बनाउने, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई प्रविधिको हब बनाउने, जडीबुटी प्रशोधन केन्द्र बनाउने उम्मेदवारको प्रतिबद्धता छ । वीरेन्द्रनगर बजार क्षेत्रको ढल निकास गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्यलाई पूर्ण रूपमा सरकारी बनाउने, रोजगारी उत्पादन गर्ने काम थाल्ने, कैलाली, सुर्खेत र अछाम जोड्ने सडक बनाउने कामलाई ती उम्मेदवारले आफ्नो आगामी योजना रहेको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले प्रत्येक पालिकामा आइटी कलेज स्थापना गरी प्रविधिमैत्री र रोजगारमुखी शिक्षामा पहुँच बढाउने, सुर्खेतस्थित प्रदेश अस्पताललाई अत्याधुनिक र राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने, पालिकास्तरमा विशेषज्ञसहितको स्वास्थ्य संस्था स्थापना गर्ने, उज्यालो सुर्खेत र समृद्ध भविष्यका लागि टोलटोलमा सडक र सिँचाइ, घरघरमा विद्युत् र खानेपानीको सुविधा पुर्याउने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक र नमुना सहरका रूपमा विकास गर्दै उपमहानगरपालिकामा स्तरोन्नति गर्ने, सुर्खेत विमानस्थल र रत्न राजमार्गको स्तरोन्नति गर्ने, सबैखाले शोषण, दमन र उत्पीडनको पूर्ण अन्त्य गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटाले बिजुली, पानी, ढल निकास, फोहोर व्यवस्थापनका काम योजनाबद्ध रूपमा अगाडि बढाउने जिकिर गर्नुभयो । उहाँले जनताले खोजेको आधारभूत आवश्यकता भएकाले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । विगतमा भूमिहीनलाई पुर्जा बाँड्ने भन्दै मत लिने गरिएकोप्रति आक्रोश पोख्दै उहाँले पाँच वर्षको स्थिर सरकार नहुने बेलासम्म पुर्जा बाँडिँदैन भन्नुभयो । कैलालीदेखि सुर्खेत हुँदै अछाम जोड्ने सडक, विद्युत्को काम आफूले अगाडि बढाउने उहाँको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविराम पुरीले जिल्लाको विकासभन्दा राष्ट्रिय एजेन्डाका कुरा राख्नुभयो । उहाँले राष्ट्रपतिको सट्टा राजा राख्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने, स्थानीय तह गैरदलीय बनाउने, पूर्ण समानुपातिक पद्धति गराउन आफू उम्मेदवार बनेको जानकारी दिनुभयो । उज्यालो नेपाल पार्टीका उम्मेदवार गम्भीरसिंह भुलले दुई वटा सुरुङ योजनाको गुरुयोजना बनाउने, क्षेत्र नं. २ मा १८ हजार घरधुरीमा विद्युत् नपुगेकाले विद्युत् पुर्याउने, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताउनुभयो भने स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले प्रविधिमैत्री पद्धति बनाउने, जेनजीको चाहना अनुसारका काम गर्ने योजना रहेको सुनाउनुभयो । कार्यक्रममा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा सहभागी भए पनि प्रचारप्रसारमा जानुपर्ने भन्दै नबोलेरै बाहिरिनुभयो । कांग्रेसका उम्मेदवार नारायण कोइरालाले पश्चिम सुर्खेतको पञ्चपुरीको डाँडाछाप्रेमा घरदैलो कार्यक्रम भएकाले उपस्थित हुन नसकेको बताइएको छ । मतदाताले भने विगतको पूरा हुन नसक्ने कामको सपना नदेखाउन सुझाव दिएका छन् ।