नवलपुर, असोज ७ गते । कावासोती नगरपालिका–११ का एक दम्पती दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । श्रीमान् साउदी अरब र श्रीमती कुवेतमा । उहाँहरूका दुई छोराछोरी जनता आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन् ।
श्रीमान् श्रीमती नै विदेश गएपछि उहाँहरूले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । बहिनी सुनिता (नाम परिवर्तन) को उमेर भर्खर २३ वर्ष भएको छ । उहाँको एउटा तीनवर्षे छोरा हुनुहुन्छ । श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । दुई छोरा छोडेर जेठाजुका श्रीमान् श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोरासहित पाँच जना बालबालिकाको लालनपालन र शिक्षादीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ ।
सानै उमेरमा यति ठुलो जिम्मेवारी सुनितालाई निल्नु न ओकल्नु भएको छ । “आफ्ना छोराछोरीलाई भए पो जे गरे पनि जसो गरे पनि हुन्छ । अर्काका छोराछोरी त अलि ठुलो स्वरले कराउँदा पनि नराम्रो मान्लान् कि भन्ने डर । नकराउने हो भने भनेकै मान्दैनन् । पढाइ पनि पहिले जस्तो छैन,” सुनिताले सुनाउनुभयो ।
त्यही टोलकै अर्की महिला रजनी (नाम परिवर्तन) डेढ वर्षदेखि कुवेतमा रहेको उहाँका छोराले जानकारी दिनुभयो तर बिहानैदेखि हल्का नसाको तालमा रहेका श्रीमान्लाई श्रीमती कुन देश गएको भन्ने पनि यकिन छैन । निमावि तहमा अध्ययनरत दाजुभाइ आफैँ खाना पकाएर खाएर विद्यालय जान्छन् । समयमा विद्यालय नपुग्ने उनीहरूले खाना पकाउन समय लागेकाले आउन ढिला भएको बताउने गरेका विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पङ्गेनीले बताउनुभयो ।
“आमा विदेश गएको एक महिनामै परिवर्तन देखियो । पहिले राम्रो भएका बच्चाको पढाइ एक महिनामै खस्कियो । होमवर्क गर्दैनन् । सरसफाइमा ध्यान छैन,” प्रधानाध्यापक पङ्गेनीले भन्नुभयो, “आमा नहुँदा अनुहार नै मलिन र टिठलाग्दो हुनेरहेछ ।’’ सहायक प्रधानाध्यापक सञ्जय भट्टराईका अनुसार यही टोलबाट यही समुदायका २९ जना बालबालिका यो विद्यालयमा अध्ययनरत छन् ।
ऋण खोजेर मलेसिया गएका अर्का स्थानीय युवा त्यहाँ काम गर्न नसकेपछि छ महिनामा घर फर्कनुभयो र फेरि ऋणमै श्रीमतीलाई विदेश पठाउनुभयो । अहिले घरमा बहिनीको रेखदेखमा दुई छोराछोरीलाई राखेर उहाँ काम खोज्न पूर्वी नेपालको काँकडभिट्टा पुग्नुभएको छ । बहिनीलाई भाउजू कुन देश गएको पनि पत्तो छैन । छिमेकी सरस्वती कँडेलका अनुसार उहाँ कुवेत जानुभएको डेढ वर्ष भयो । “आमा हुँदासम्म सबै राम्रै थियो, छोराछोरी पनि इमानदार नै थिए, अहिले त एकछिन घरमा पनि बस्दैनन्, कता गएर ? के गर्छन् ? कसैलाई मतलब हुँदैन,” कँडेलले सुनाउनुभयो ।
त्यसको दुई घर पर्तिर अर्का एक दम्पतीको घर छ । जहाँ प्रायः जसो मदिराको तालमा हुने युवा मदिरा सेवन अलि कम गरेर शनिबारको दिन माछा मार्न नारायणी जानुभएको थियो । नौ वर्षका छोरा, सात र पाँच वर्षका छोरी नाङ्गै केराघारीमा खेल्दै थिए । उनीहरू तिनै जना पढ्न करिब तीन किलोमिटर हिँडेर विद्यालय जान्छन् । कक्षा १ मा पढ्ने कान्छी छोरी भन्छिन्, “बाबाले धेरै रक्सी खानुहुन्थ्यो, अहिले रोग लाग्यो भनेर अलि कम गर्नुभएको छ, मम्मी विदेश जानुभएको छ । साह्रै याद आएको छ । छिट्टै आए हुन्थ्यो नि !”
यो यस ठाउँको घर घरको व्यथा हो । वडा सदस्य हस्तबहादुर पुरी गोसाईंका अनुसार यहाँ एउटै समुदायका ३० घरपरिवारको बसाइँ छ । यहाँका ५० जनाभन्दा बढी विवाहित महिला वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।
“हुन त विदेश नगएको को पो छ र ! तर श्रीमान् विदेश जानु र श्रीमती जानुमा धेरै अन्तर हुँदो रहेछ”, गोसाईंले भन्नुभयो, “श्रीमान्ले कमाएको पैसा श्रीमतीले जोगाड गरी राख्छन् तर श्रीमतीले कमाएको पैसा श्रीमान्ले जाँडरक्सीमा सक्ने रहेछन् । श्रीमती विदेश पठाएका श्रीमान् दिनभरि जाँडरक्सीमा लट्ठिएर हिँड्छन् । लुँडो, तास र क्यारमबोर्ड खेलेर दिन बिताउँछन् । अर्कातिर घरमा आमा नहुँदा छोराछोरीको विचल्ली हुँदो रहेछ ।”
उहाँका अनुसार विदेश गएर कमाएको पैसा स्थानीय एक महिलाले मात्र व्यवस्थित गर्न सक्नुभएको छ । उहाँले त्यही ठाउँमा पक्की घर बनाउनुभएको छ । उहाँ पहिले आफू विदेश जानुभयो । आफू स्वदेश फर्केर श्रीमान्लाई विदेश पठाउनुभयो । त्यो कमाइले पक्की घर बनाएर अहिले किराना पसल गर्ने तयारी छ ।
श्रीमतीले जस्तो घरको रेखदेख र छोराछोरीको हेरचाह श्रीमान्बाट नहुने बताउनु हुन्छ जनता आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष मनबहादुर सिन्जालीमगर । “हरेक घरका महिला विदेश गएका छन् तर सबैको घरको अवस्था नाजुक छ । छोराछोरी कसैको पनि न सरसफाइ छ, न पढाइ राम्रो । यसले समाजको चित्र नै बदलिदिएको छ,” अध्यक्ष सिन्जालीले उराँठलाग्दो कहानी सुनाउनुभयो ।