• ११ असोज २०८१, शुक्रबार

आज विश्व अल्जाइमर दिवस

डिमेन्सियाका बिरामी थपिँदा स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो

blog

काठमाडौँ, असोज ५ गते । नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ । मानसिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ६० वर्षभन्दा माथिका ७ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित रहेको देखिएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा नेपालमा १५ हजारको सङ्ख्यामा डिमेन्सिया भएका बिरामी थपिए । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले सरकारले अल्जाइमर तथा डिमेन्सिया रोगलाई सम्बोधन गर्न प्रमुख नीतिगत सम्बोधन गरिसकेको जानकारी दिनुभयो । उहाँले हाल विश्वभर पाँच करोड व्यक्ति डिमेन्सियाबाट पीडित रहेको जानकारी दिँदै बर्सेनि एक करोडको हाराहारीमा डिमेन्सिया भएका बिरामी थप हुने बताउनुभयो । 

उहाँले डिमेन्सिया तथा अल्जाइमर रोग बढ्दो उमेरसँगै आउने मस्तिष्क रोग भएकाले यसबारे जनचेतना जगाउन सके रोगलाई कम गर्न सकिने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रममातहत विपन्न नागरिकलाई अल्जाइमर रोगका लागि एक लाखसम्म उपचार सुविधा प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।

समन्वय भए रोकथाम सम्भव 

निर्देशक निरौलाले अल्जाइमरलाई स्वास्थ्य क्षेत्रबाट मात्र कम गर्न कठिन हुने बताउँदै बहुक्षेत्रीय समन्वयको आवश्यक रहेको प्रस्ट पार्नुभयो । उहाँले सङ्घीय मन्त्रालय, प्रदेश तथा स्थानीय तहसम्मको समन्वयात्मक भूमिका भए मात्र अल्जाइमर रोगलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । 

मानसिक रोग विशेषज्ञ डा. निरेश सापकोटाले नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि भएसँगै डिमेन्सिया रोग बढिरहेको बताउनुभयो । उहाँले विशेष गरी अल्जाइमर महत्वपूर्ण चुनौतीका रूपमा देखापरेको बताउनुभयो । उहाँका अनुसार जीवनशैली, खानपान, नियमित व्यायाममा ध्यान दिन सके अल्जाइमरलाई कम गर्न सकिने बताउनुभयो । अल्जाइमर मानिसको उमेर बढ्दै गएपछि सम्झने क्षमता कम हुने रोग हो । 

अल्जाइमरका कारण व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरूलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, मानिसलाई चिन्न नसक्ने, हिँडडुल गर्न नसक्नेजस्ता लक्षण देखिन्छ । निरौलाका अनुसार अल्जाइमरलाई पूर्ण रूपमा ठिक गर्न नसके पनि नियन्त्रणमा राख्न सकिन्छ । 

असामान्य तरिका देखाउनु, कुनै कुरा बिर्सनु, एकाग्रतामा कमी हुनु, पहिचान बिर्सनु, राम्रो, नराम्रो छुट्याउन नसक्नु अल्जाइमरका प्रमुख लक्षण हुन् । यसैबिच ‘अबको आवश्यकता : अल्जाइमर तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने नारासहित ३१ औँ विश्व अल्जाइमर तथा डिमेन्सिया दिवस शनिबार मनाइँदै छ । नेपालमा अल्जाइमर तथा डिमेन्सियासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी विश्व अल्जाइमर दिवस मनाइँदै छ ।

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।