चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १२ गते। ताप्लेजुङमा बुधबार सम्पन्न पॉचौ अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरूष फुटबलको उपाधि साथीभाइ युथ क्लब फुङ्लिङले जितेको छ। जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा खेलाइएको फाइनल खेलमा निर्धारित समयावधिभित्र एक–एक गोल बराबरी भएपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो। यता उपाधि जितसँगै साथीभाइ युथ क्लबले एक लाख ५१ हजार १८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै उपविजेता बनेको जनसेवा आदर्श स्पोर्टिङ क्लबले ८१ हजार १८२ रुपियाँ नगदसाथ पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ। तिहार पर्वको अवसरमा खाम्लुङस्थित पृथ्वी तथा लेस्नमाया स्मृति क्लबले प्रतियोगिता आयोजना गरेको हो। आयोजक क्लबका अध्यक्ष सुजन सामेखामका अनुसार गत कात्तिक ७ गते शुक्रबार सुरु भएको प्रतियोगितामा तेह्रथम र पाँचथर जिल्लाका क्लबहरुसहित १० टोली सहभागी भएका थिए।