• १ असोज २०८१, मङ्गलबार

भारततर्फ लागूऔषध तस्करीमा संलग्न नेपाली पक्राउ

blog

आधा किलो चरेससहित भारतमा पक्राउ परेकी नेपाली महिला। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज १ गते।  नेपालबाट भारततर्फ लागूऔषध चरेस र अफिम तस्करी गर्ने नेपाली भारतमा निरन्तर पक्राउ पर्दै आएका छन्।  नेपाली नाका सहज रूपमै पार गरेर भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्दै आएका छन्।  

केही दिन अघि मात्रै दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित दुई जना नेपालीलाई नाका पारी रुपैडिहामा पक्राउ गरिएको घटना सेलाउन नपाउँदै फेरि आधा किलो चरेससहित एक जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।  

प्रतिबन्धित लागूऔषध चरेससहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपैडिहामा पक्राउ परेको रुपैडिहा प्रहरीले जनाएको छ।  

रुपैडिहा थाना इन्चार्ज शमशेरबहादुर सिंह र एसएसबी ४२ औँ बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलासी गर्दा पाँच सय ग्राम चरेससहित रोल्पा मिरुल वडा नम्बर ४ बस्ने सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

बुढाका साथबाट बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रुपियाँ रहेको एसएसबी ४२ औँ बाहिनीका कमाण्डेन्ट गङ्गा सिंह उदावतले बताउनुभयो।   उहाँले बुढा र बरामद चरेसलाई थप कारबाहीको लागि भारतीय अदालत बहराइच पठाइएको जनाउनुभयो।  

यसै साता रुपैडिहास्थित एसएसबीको ४२औँ बाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ५ का बरीलाल घर्ती र उहाँकी पत्नी नरमाया घर्तीलाई दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको थियो।  अफिमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चालान गरिएको एसएसबीले जनाएको थियो।