• २९ भदौ २०८१, शनिबार

रेडक्रसको मानवीय धर्म

blog

सन् १९५९ मा छेडिएको सल्फेरिनोको युद्धमा घाइते भएकाहरूको उपचारबाट सुरुवात भएको प्राथमिक उपचार सेवा रेडक्रस अभियानको प्रमुख र अभिन्न अङ्ग हो । रेडक्रसमा आबद्ध भएका विश्‍वका सबै देशमा रहेका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीहरूले हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउँदै आएका छन् । प्रत्येक वर्ष कुनै न कुनै सन्देशका साथ मनाइँदै आएको यस दिवसमा यस वर्ष सन् २०२४ को नारा ‘प्राथमिक उपचार र खेलकुद’ रहेको छ । 

रेडक्रस स्थापना नै युद्धका घाइतेलाई प्राथमिक उपचार र अन्य सेवा कार्यबाट भएकाले स्थापनाकालदेखि नै रेडक्रस अभियानमा प्राथमिक उपचार सेवालाई आफ्नो महत्वपूर्ण कामका रूपमा स्वीकार गरी सेवा प्रदान गर्दै आइरहेको छ । यस किसिमका मानवीय कार्यमा एकरूपता ल्याउन तथा गुणस्तर कायम गर्नका लागि ‘ग्लोबल फस्ट एड रेफरेन्स सेन्टर’ बाट दस्ताबेज विकास गरिन्छ । त्यसैका आधारमा स्थानीय आवश्यकता तथा अवस्थाका आधारमा पाठ्यक्रम विकास गरी अगाडि बढाउने अभ्यास रहेको छ । 

नेपालको सन्दर्भमा यस किसिमका पाठ्यक्रमको विकास ‘फस्ट एड ट्रेनिङ करिकुलम एडभाइजरी टिम’ ले गर्छ । यसरी स्वीकृत भएका दस्ताबेजहरूका आधारमा राष्ट्रियस्तरमा प्राथमिक उपचार प्रशिक्षक प्रशिक्षण दिइन्छ र उनीहरूलाई प्रशिक्षणका रूपमा देशभर परिचालन गरिन्छ ।

हरेक वर्ष नेपाल रेडक्रस सोसाइटीमा केन्द्र, ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा, उपशाखा र शैक्षिक संस्था तथा समुदायमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कलमार्फत विभिन्न गतिविधि हुन्छन् । जस्तैः प्राथमिक उपचार प्रशिक्षण, प्राथमिक उपचार सिमुलेसन, हाजिरी जवाफ प्रतियोगिता, सचेतामूलक कार्यक्रम, उत्कृष्ट प्राथमिक उपचार स्वयम् सेवक छनोट, उत्कृष्ट प्राथमिक उपचार प्रशिक्षक छनोट साथै विभिन्न प्रतियोगिता आयोजना गरी यो दिवस मनाउने गरिन्छ । 

सोसाइटीले यस्ता ज्ञान तथा सिप विस्तार गर्ने कार्यमा सोसाइटीका सबै तहमा प्रशिक्षक तथा स्वयंसेवकलाई प्रशिक्षण प्रदान गरी उनीहरूको क्षमता विकास गरेको छ । जसले आकस्मिक अवस्थामा तुरुन्त सेवा प्रदान गर्ने कुरा सुनिश्चित छ । नेपाल रेडक्रसको सन्दर्भमा कुरा गर्दा रेडक्रसबाट तालिम प्राप्त प्राथमिक उपचार स्वयंसेवकले कुनै पनि विपत्को समयमा, दुर्घटना वा महामारीजन्य अवस्था साथै ठुलो जनमानस उपस्थित हुने सांस्कृतिक/धार्मिक कार्यक्रममा भएका विभिन्न किसिमका घाइते वा बिरामीको उपचारका लागि सेवा पुर्‍याउँदै आएको छ । 

सोसाइटीको प्राथमिक उपचार सेवाले तत्काल घाइते वा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन, अवस्थामा सुधार ल्याउन र जीवन रक्षा गर्ने कुरामा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यसबाहेक विपत्को समयमा बिरामी वा घाइतेलाई मनोसामाजिक प्राथमिक उपचार सेवा प्रदान गरी स्याहार सुसार पुर्‍याउने गरेका छन् । कुनै पनि मानिसलाई कुन समयमा कस्तो बेला, कस्तो स्थानमा, कुन प्रकारको समस्या आइपर्छ, घाइते वा बिरामी हुन्छ भन्ने कुरा अगाडि नै थाहा हुँदैन । आकस्मिक अवस्थामा कुनै पनि व्यक्तिलाई दक्ष चिकित्सा सेवा नपाइञ्जेलसम्म प्राथमिक उपचार सेवा आवश्यक पर्छ । प्राथमिक उपचार सेवा प्रदान गर्नका लागि आवश्यक ज्ञान र सिप हासिल गर्न पनि जरुरी हुन्छ । त्यो सेवा तपाईं हामीले नै कुनै पनि बेला लिनुपर्ने हुन्छ भन्ने अग्रिम थाहा हुँदैन । नेपाल रेडक्रस सोसाइटीले ‘एक घर एक प्राथमिक उपचारक’ तयार गरी सेवा विस्तार गर्ने अभियान र यस अपरिहार्य जीवनउपयोगी ज्ञान तथा सिप प्राप्त गर्नका लागि पैरवी तथा ज्ञान सिप हस्तान्तरण गर्दै आइरहेको छ ।

रेडक्रसबाट सञ्‍चालित विभिन्न कार्यक्रम जस्तै : सामुदायिक उत्थानशीलता, विपत् व्यवस्थापन, स्वास्थ्य सेवा आदि जस्ता कार्यक्रममार्फत समुदायसम्म पुगी स्थानीय स्वयंसेवकलाई ज्ञान तथा सिप प्रदान गरी आवश्यक समयमा समुदायसम्म सेवा पुर्‍याइएको छ । यसका अतिरिक्त मागका आधारमा नेपाल सरकारका सुरक्षा निकाय, सयुक्त राष्ट्रसङ्घीय निकायमा कार्यरत कर्मचारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था, औद्योगिक, व्यापारिक तथा वित्तीय निकायलाई लक्षित गरी प्राथमिक उपचारका प्रवर्धनात्मक गतिविधि तथा सेवा कार्यसमेत सञ्चालन भइरहेका छन् । यस वर्ष मात्र नौ वटा विभिन्न सङ्घसंस्थाका २३२ जनालाई प्रशिक्षण प्रदान गरिएको हुँदा कार्यस्थलमा हुने घटनामा तुरुन्त प्राथमिक उपचार प्राप्त गर्न सजिलो हुने छ । हालसम्म सोसाइटीबाट प्राथमिक उपचार, एडभान्स प्राथमिक उपचार, आधारभूत जीवन रक्षा, कृतिम श्वासप्रश्वासलगायत अन्य विभिन्न प्रकृतिका तालिम प्राप्त स्वयंसेवक रहेका छन् । 

विभिन्न खोज तथा अनुसन्धानका आधारमा यसका विशेषज्ञबाट प्राथमिक उपचारका विषयवस्तु तथा ज्ञान सिप र अवधारणामा पनि समयानुकूल परिमार्जन गरिँदै लगिएको छ । यसर्थ हरेक स्वयंसेवकले प्रशिक्षण लिएको तीन वर्षमा आफ्ना ज्ञान तथा सिपलाई अद्यावधिक पनि गर्नुपर्ने हुन्छ ।

नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको तथा आधारभूत स्वास्थ्य सेवाका लागि पूर्वाधार तथा सेवाको पहुँच सहज छैन । यस्तो अवस्थामा प्राथमिक उपचार सेवाको विशेष महìव छ भने सम्पूर्ण सर्वसाधारणमा यसको पहुँच बढाउनु आवश्यक हुन्छ । त्यसैले प्राथमिक उपचारसम्बन्धी विषय वस्तु सबैले जान्नै पर्ने सरोकारको विषय हो । जसले जीवनभर आफू र आफ्ना छिमेकीलाई आकस्मिक अवस्थामा सहयोग पुर्‍याउन सक्छ । प्राथमिक उपचारको ज्ञान सिपको प्रवर्धन हुने मात्र नभई यसको आवश्यकता र महìवका बारेमा थप वृद्धि हुने छ । यसै गरी घर, कार्यस्थल, समुदाय विद्यालय, आफू र आफ्ना सहकर्मी र आफन्तको आकस्मिक अवस्थामा प्राथमिक उपचार सेवा पुर्‍याउन सक्ने क्षमता राख्‍नु नै अहिलेको आवश्यकता हो ।  

Author

लीला खनाल