• ८ वैशाख २०८१, शनिबार

घोषणापत्रमा पर्यटन

विकास र समृद्धिको आधार

blog

काठमाडौँ, वैशाख २७ गते  । स्थानीय तहको निर्वाचन देशभर वैशाख ३० गते हुँदै छ । स्थानीय सरकारको यो संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो बढी छ । स्थानीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् ।

अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटनलाई प्रमुख राजनीतिक दलले पनि उच्च प्राथमिकता दिएका छन् । राजनीतिक दलले पर्यटन क्षेत्रलाई राष्ट्रिय आयआर्जनको एक महत्त्वपूर्ण स्रोतका रूपमा अगाडि बढाउन उच्च प्राथमिकता दिएका हुन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले आ–आफ्नो चुनावी घोषणापत्रमार्फत पर्यटन प्रवद्र्धनका महत्त्वाकाङ्क्षी योजना अगाडि सारेका हुन् ।

समुन्नत राष्ट्र बनाउने आधार : नेपाली काँग्रेस 

नेपाली काँग्रेसले पर्यटनबाट समुन्नत राष्ट्र बनाउन प्रशस्त आधार भएको उल्लेख गरेको छ तर यसबाट अपेक्षित लाभ लिन नसकिएको अवस्थामा एकीकृत र व्यवस्थित विकाससँगै आगामी दशकमा यस क्षेत्रबाटै देशको अर्थतन्त्रमा अगुवाइ गराउने लक्ष्य लिएको छ । 

नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्य बनाई जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्त्वपूर्ण स्रोतका रूपमा अगाडि बढाउन उच्च प्राथमिकता दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।काँग्रेसले पर्यटकलाई बचाउन, फर्काउन र फैलाउन गन्तव्य प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने बनाउने लक्ष्य लिएको छ । 

विशिष्ट सांस्कृतिक सम्पदा र परम्परागत तथा पुरातात्त्विक महत्त्वका सामग्री सङ्कलन गरी हरेक स्थानीय तहमा कम्तीमा एउटा सङ्ग्रहालय निर्माण र वातावरणमैत्री व्यवसायका रूपमा पर्यटन प्रवद्र्धन गरिने कुरा नेपाली काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

आकर्षक गन्तव्य र गतिवधिको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न‘का साथै उनीहरूसँग सहकार्य गर्ने, स्थानीय तथा बाह्य लगानीकर्तालाई पर्यटकीय गन्तव्य निर्माण र गतिविधि सिर्जना गर्न लगानी आकर्षण गर्ने नीति काँग्रेसको छ । 

पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता साहसिक गतिविधिमा काम गर्ने जनशक्तिको जीवनलाई सहज र सुरक्षित बनाउने, परम्परागत शैलीमा निर्माण गरिएका घर संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्ने स्थानीयवासीलाई सहुलियतको व्यवस्था गर्ने नेपाली काँग्रेसको घोषणापत्रमा समेटिएको छ ।

पर्यटनबाट समृद्धि : नेकपा (एमाले)

मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा (एमाले)ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । 

नेकपा एमालेले प्रत्येक स्थानीय तहका गौरवका प्राकृतिक र सांस्कृतिक विषय छनोट र विकास गर्ने कार्यक्रम घोषणापत्रमा राखेको छ । 

नेकपा एमालेले पर्यटकीय प्राकृतिक सम्पदा संरक्षण, ऐतिहासिक र सांस्कृतिक  सम्पदाको प्रवद्र्धन, मानव निर्मित पर्यटकीय वस्तुको विकास, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यक्रम तय गरेको छ । सम्बन्धित स्थानीय तहका र मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदा एवं स्थानीय मेला, पर्व एवं जात्राको संरक्षण र व्यवस्थापन गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

प्राकृतिक पर्यावरणीय, साहसिक आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जन पर्यटन क्षेत्रको पहिचान, प्रवद्र्धन, विकास र संरक्षण गर्ने, जैविक र पर्यावरणीय विविधतासहितको ‘इको–टुरिजम’को संरक्षण र विकास गर्ने एमालेको नीति छ । 

प्रत्येक वडामा बगैँचा तथा उद्यानको विकास तथा व्यवस्थापन गर्ने, स्थानीय तहमा पर्यटन प्रवद्र्धनका लागि होटल, रेस्टुरेन्ट, घरबास खोल्न प्रोत्साहन गरिने एमालेको कार्यक्रम छ । पदमार्ग, पर्यटन सूचना केन्द्र, पर्यटन प्रहरीको विस्तार, केबलकार, प्याराग्लाइडिङ, बन्जीजम्प, -याफ्टिङ, हटएयर बेलुन, हेलिप्याडलगायत पूर्वाधार तथा सेवा सुविधाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने योजना पनि एमालेकोे छ ।

आधा आय सम्बन्धित स्थानीय तहलाई : नेकपा (माओवादी केन्द्र)

माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पर्यटन प्रवद्र्धनको नीति अगाडि सारेको छ । पर्यटनको प्रतिफल गाउँगाउँमा पु-याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न र पर्यटकीय पदमार्गको विस्तार तथा पर्यापर्यटनको विकासमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । घरबासलगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु-याइने तथा पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमै खर्च गर्ने नीति लिइएको छ ।

स्थानीय स्रोतसाधनको अधिकतम उपयोग : नेकपा (एकीकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्रमा स्थानीय सरकारले आफ्नो भूगोलभित्रका पर्यटकीय स्थानको विकास र संरक्षण गर्ने र यसका माध्यमबाट पर्यटक आकर्षित गर्ने नयाँनयाँ योजना अगाडि सार्ने उल्लेख छ । यसका लागि स्थानीय साधन तथा स्रोतलाई अधिकतम प्रयोग गरी स्थानीय तहस्तरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेर आर्थिक गतिविधि बढाउने र रोजगारीका अवसर सिर्जना गरिने एकीकृत समाजवादीको विश्वास छ । यसका लागि पर्यटन ग्राम, घरबास, पर्यटन सडक, पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माण तथा ऐतिहासिक एवं धार्मिक पर्यटन प्रवद्र्धन गरिने एकीकृत समाजवादीको योजना छ ।

पर्यटन उद्योगमा आयकर छुट : जसपा 

जनता समाजवादी पार्टी (जसपा)ले हरेक स्थानीय तहले सम्भाव्यताका आधारमा प्राकृतिक–पर्यावरण तथा धार्मिक क्षेत्रको संरक्षण, ताल तथा नदीजन्य पदार्थको सही उपयोग, होमस्टे र पदयात्रा पर्यटनको विस्तार गर्दै पाँचवर्षे कार्ययोजनाका आधारमा निश्चित सङ्ख्याका स्वदेशी र विदेशी पर्यटक भित्र्याउने कार्यक्रम बनाउने नीति लिएको छ ।

पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो पाँच वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने बताइएको छ । होमस्टे सञ्चालन गर्न चाहने महिलाको समूहका लागि ५० लाख रुपियाँसम्म लिएको ऋणको ५ प्रतिशतभन्दा बढी ब्याजमा अनुदान दिइने भनिएको छ ।

पर्यटन पालिकास्तरमै लैजाने : लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थप पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण एवं प्रचारप्रसार गर्ने योजना बनाएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पन्नताका कारण नेपालको हरेक पालिकाको कुनै न कुनै विशेषता रहेकाले उक्त दलले पर्यटकीय स्थलको पहिचान गर्ने र पर्यटनलाई पालिकास्तरसम्म नै लैजान विशेष व्यवस्था गर्ने योजना बनाएको छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका थप स्थलको प्रवद्र्धन गर्ने तथा नयाँ पहिचान भएका पर्यटकीय महत्त्वका स्थलको विकासका लागि आवश्यक सडक र अन्य पूर्वाधारको निर्माण गर्ने उद्देश्य लोकतान्त्रिक समाजवादी पार्टीले लिएको छ । 

पर्यटकीय स्थलको प्रचारप्रसारका लागि वेबसाइट र अन्य सामाजिक सञ्जालको प्रयोग गरिनेछ । पर्यटकीय स्थलको निर्माण, संरक्षण, पर्यटक ओसारपसार र प्रचारका लागि प्रादेशिक तथा सङ्घीय सरकारसँग सहकार्य गरिने लोसपाले जनाएको छ ।