• ७ मंसिर २०८१, शुक्रबार

बालीपात्रो बनाएर व्यावसायिक कृषि

blog

काठमाडौँ, भदौ २२ गते । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ढुङ्खर्कका किसान मोहनकृष्ण तिमल्सिनाको बारीभरि बन्दाकोबी र मुला बेच्न तयार छ । सिजनमा सबैभन्दा कम भाउ आउने तरकारीमा पर्ने बन्दाकोबीको न्यूनतम मूल्य कालिमाटीमा नै ५० रुपियाँ छ ।

तिमल्सिनाले ४० रुपियाँ प्रतिकिलोसम्ममा बेचिरहनुभएको छ । मुलाको सोचे जस्तो मूल्य नआए पनि २० रुपियाँ किलोमै बिक्री भइरहेको छ । तिमल्सिना जस्तै बनेपा नगरपालिका–२, नालाका दिवाकर दाहालले दसैँमा नयाँ आलु बजारमा ल्याउने गरी काम गरिरहनुभएको छ । अहिले बजारमा नयाँ आलुको ६० रुपियाँ किलोको बिक्री हुन्छ ।

यी दुई किसान प्रतिनिधि मात्रै हुनुहुन्छ । उहाँहरूले बजारको माग अनुसार बालीपात्रो बनाएर सोही अनुसारको उत्पादन गरेर व्यावसायिक कृषिमा सफलता हासिल गर्नुभएको हो । पाँचखालमा हरेक वर्ष वैशाखदेखि असारसम्म गोलभेँडा नबिकेर किसानले खेतमै फाल्ने गरेका छन् । कृषक भेषराज दनुवारले विकट भूगोल र कृषि प्रसारमा काम गर्ने दक्ष जनशक्तिको कमी हुँदा त्यसको प्रत्यक्ष असर नेपाली कृषकलाई परिरहेको बताउनुभयो । 

कृषकलाई आवश्यक कृषि प्रविधि तथा मौसमको पूर्वजानकारीमा पँहुच नहुँदा कृषि लगाउने समयसँगै उत्पादकत्वमा वृद्धि गर्न सकिरहेका छैनन् । बालीपात्रो प्रयोग गर्न नसक्दा भारतीय उत्पादनले नेपाली उत्पादनलाई असर पारिरहेको छ । लामो समयदेखि कृषि अनुसन्धानमा क्रियाशील कृषि प्रचार अधिकृत कृष्ण धितालले किसानसँग रहेका स्मार्टफोन र इन्टरनेटको प्रयोगबाट कृषि मोबाइल एपको सहजै प्रयोग गर्न सक्ने भए पनि त्यसको प्रयोग गर्न नसकिएका स्वीकार गर्नुभयो । उहाँले नेपालमा एक जना कृषि प्राविधिकले एक हजार ३३३ घरधुरी कृषकलाई कृषि प्रसारको सेवा दिनुपर्ने बाध्यता भएकाले प्रविधिको प्रयोगबाट मात्रै किसानले लाभ लिन सक्ने प्रस्ट पार्नुभयो । 

देशमा कुल कृषियोग्य जमिनको १५ प्रतिशत क्षेत्रफलमा मात्रै कृषि प्रसारको सेवा पुगेको छ । उहाँले दुर्गम र कृषि प्रसारणमा काम गर्ने कर्मचारीको सङ्ख्या थोरै हुँदा कृषकका लागि सरकारी तथा गैरसरकारी निकायबाट विकास भएका कृषि प्रविधि, पद्धति तथा तौरतरिका कृषकसँग सहजै पुग्न नसकेको अवस्थामा स्मार्टफोन निकै प्रभावकारी हुने बताउनुभयो । 

मोबाइल एप उपयोगी

वरिष्ठ कृषि प्रसार अधिकृत दीपक पौडेलले कृषकका लागि आवश्यक कृषि प्रविधि तथा मौसमको पूर्वजानकारी नभएसम्म कृषकको कृषि उत्पादनमा वृद्धि हुन नसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुन मौसमको कुन तरकारी उत्पादन राम्रो हुने र कुन समयमा भाउ राम्रो आउने भन्ने जानकारी कृषकलाई आवश्यक पर्छ । किसानले त्यस्तो जानकारी आफ्नो मोबाइलमै पाउन मोबाइल एपको प्रयोग गर्नुपर्ने हुन्छ ।” मोबाइल एपले कृषकलाई समयमै मौसमी सूचना दिन सहयोग पु¥याउँछ । उद्यमी तथा व्यावसायिक कृषक समूह र कृषि बजार तथा तरकारीको मूल्य थाहा हुने भएकाले ठगिन सक्ने सम्भावना निक्कै कम हुने पौडेलले दाबी गर्नुभयो ।  मोबाइल एपको नियमित प्रयोगले कृषकलाई उपयोगी साबित भएको छ । कृषक सीता अधिकारीले आफूले नियमित रूपमा कालिमाटी बजारको मूल्यसूची हेरेर व्यापारीलाई तरकारी बेच्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला व्यापारीले जे भन्नुभयो, त्यही मान्नुपर्ने बाध्यता थियो, अहिले हामीले भनेको भाउमा तरकारी बेच्न पाएका छौँ ।” 

उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कालिमाटी फलफूल तरकारी बजार समितिले दैनिक मूल्यसूचीको सूचना ‘कालिमाटी प्राइस टुडे’ एपमा अपडेट हुन्छ ।

कृषि क्षेत्रमा हुन सक्ने जोखिमलाई सूचना तथा प्रविधिका माध्यमबाट न्यूनीकरण गर्ने र अनुकूलनात्मक वातावरणलाई सहजीकरण गर्न र कृषकसँग सम्बन्धित जलवायु सूचना कृषकसँग पु¥याउन मोबाइल एपको प्रयोग हुने गरेको छ । लभग्रिन जापानका समन्वय अधिकृत विमल दुलालले जलवायु परिर्वतनले कृषिमा पार्ने क्षति तथा पूर्वजानकारी पाउने भएकाले त्यसबारे जानकारी दिने बताउनुभयो । उहाँले किसानले राम्रोसँग छाने मोबाइल एप उपयोगी हुने र कृषि प्रसार अधिकृत किसानसँग पुग्न नसकेको अवस्थामा यसले व्यावसायिक कृषिमा सहयोग पुग्ने बताउनुभयो । 

वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले उन्नत खेतीका वैज्ञानिक र नयाँ तरिकासँगै विशेषज्ञको सल्लाह र सुझाव सहजै पाउने बताउनुभयो । उहाँले विषादी र रासायनिक मलको सही रूपमा प्रयोग कसरी गर्ने भन्ने ज्ञान त्यस्ता एपले प्रदान गर्ने बताउनुभयो । 

दुई दर्जन कृषिसम्बन्धी एप

नेपालमा दुई दर्जन मोबाइल एप प्रयोगमा छन् । यस्ता एप कृषकले आफ्नो आवश्यकता अनुसार एन्ड्रोइड मोबाइलमा प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने छ ।

हेर्दा उस्तै उस्तै सूचना दिने भए पनि त्यसको सही रूपमा प्रयोग गर्दा किसानलाई फाइदा नै पु¥याउँछ । धेरै एप केही समय सक्रिय रहने र पछि निष्कृय हुने पनि देखिएका छन् । नियमित रूपमा अपडेट हुन नसक्दा किसानले एपको विश्वास पनि कम गर्ने गरेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रकाशन ‘कृषि त्रैमासिक पत्रिका’ का स्तम्भकार एवं कृषिविज्ञ सरोजकान्त अधिकारीले आफ्नो आवश्यकता अनुसार मोबाइल एपको प्रयोग गर्न कृषकलाई सुझाव दिनुभएको छ । उहाँले सरकारी निकायको एप विश्वसनीय हुने र किसान कल सेन्टरमा फोन गरेर एपबारे जानकारी लिन आग्रह गर्नुभयो ।