पञ्चकोशी समचारदाता
पञ्चकोशी (दैलेख), मङ्सिर ९ गते । पछिल्लो समयमा जिल्लामा सामुदायिक विद्यालयमा अवधि नपुग्दै धेरै शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका अनुसार कतिपयले व्यक्तिगत कारण देखाउँदै त कतिपयले सक्रिय राजनीति नै छनोट गर्ने उद्देश्यले राजीनामा दिएका हुन् ।
यस वर्ष मात्र २० भन्दा बढी शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका सूचना अधिकारी रतन विष्टले बताउनुभयो । उहाँले धेरै जसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको जनाउनुभयो । प्राथमिक तहमा १७ र निम्नमाध्यमिक तहमा तीन जना गरी कुल २० जना शिक्षकको राजीनामा स्वीकृत भएको जानकारी उहाँले दिनुभयो । पछिल्लो समयमा व्यक्तिगत कारण देखाउँदै शिक्षक पेसाबाट राजीनामा दिनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । सूचना अधिकारी विष्टका अनुसार कतिपय ठाउँमा दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भएका कारण, कतिपय ठाउँमा धेरै वर्ष अध्यापन गराइसकेका र कतिपय शिक्षकले भने स्थानीय तहले दिएको तलब भने जस्तो नभएका कारण पनि जागिर छोडेका छन् । केही दिनअगाडि मात्र ठाँटीकाँध गाउँपालिका–५ स्थित सत्यदेवी आधारभूत विद्यालयमा पालिकाको अनुदानका अङ्ग्रेजी शिक्षक चव्रmबहादुर थापाले राजीनामा दिनुभएको छ । उहाँले धेरै वर्ष अध्यापन गराइसकेकाले स्थानीय तहले नियमित तलब नदिएका कारण राजीनामा दिएको बताउनुभयो । पालिका अन्तर्गत दरबन्दीको तलबबाट पारिवारिक खर्च नचल्ने भएकाले राजीनामा दिएको उहाँको भनाइ छ ।
केही महिनापहिले जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा सङ्घीय अनुदान अन्तर्गत माध्यमिक तहमा गणित शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक प्राप्त गरेको प्रधानाध्यापक हर्कबहादुर विकले बताउनुभयो ।