म्याग्दी समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ९ गते । मुस्ताङमा लेक लाग्दा अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारको प्रभावकारिता बढ्दै गएपछि यहाँ लेक लागेर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या घटेको छ । बर्सेनि सवारीसाधन, पदमार्ग तथा हवाईमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकले लेक लागेर ज्यान गुमाउन थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले नाका क्षेत्रमा रहेका प्रहरीमार्फत पर्चा सामग्री वितरणसहित विभिन्न स्थानमा गरेको सचेतनामूलक अभियान प्रभावकारी देखिएको हो ।
कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरोला सडकखण्डको मुस्ताङ प्रवेशद्वार घाँसा, लेते प्रहरी चौकी, सदरमुकाम जोमसोम, मुक्तिनाथ मन्दिरसहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा पर्यटकलाई लेक लाग्ने समस्या र उपचारका लागि आवश्यक पर्ने जानकारीसहितको विवरण वितरणले लेक लागेर मृत्यु हुनेको
सङ्ख्या घटेको छ ।
नाकाबाट प्रवेश गर्ने हरेक यात्रुलाई अनिवार्य एउटा जानकारीमूलक पर्चा दिने, दीर्घरोगीलाई माथिल्लो क्षेत्रमा प्रवेश नगर्न जस्ता सचेतनामूलक कार्य गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।
लामा भन्नुहुन्छ, “लेक लाग्ने समस्या न्यूनीकरण अभियान प्रभावकारी देखिएको छ । यो क्षेत्रमा आउने पर्यटक यो विषयमा जति बढी सचेत भए, त्यति नै दुर्घटना कम हुने स्थिति देखिएको छ ।”
विगतमा धेरै पर्यटकले लेक लागेर ज्यान गुमाउने क्षेत्रमा यो पटक उपचारसहितको सेवालाई प्राथमिकता दिइएको छ । मुस्ताङमा आव २०८०/८१ मा चार लाख ५५ हजार पर्यटकले भ्रमण गर्दा १७ जना लेक लागेर ज्यान गुमाएका थिए । त्यस्तै गत आव २०८१/८२ मा सात लाख पाँच हजार पर्यटकले भ्रमण गर्दा ११ जना पर्यटकको ज्यान गएको तथ्याङ्क छ ।
चालु आव २०८१/८२ मा साउनदेखि कात्तिकसम्म दुई लाख २३ हजार ५१ जना पर्यटकले भ्रमण गर्दा दुई पर्यटक र एक मजदुरको लेक लागेर ज्यान गएको थियो । लेक लागेर मृत्यु हुनेमा दीर्घरोगी, अत्यधिक मदिरापान तथा एकै पटक उच्च क्षेत्रमा जानु प्रमुख कारण रहेको प्रदेश अस्पताल जोमसोमले जनाएको छ । पछिल्लो समय सचेतनामूलक अभियान तथा पर्यटकले समेत आफ्नो सुरक्षामा ध्यान दिन थालेपछि मृतक तथा बिरामीको सङ्ख्यासमेत घटेको छ ।
मुस्ताङमा सबैभन्दा धेरै बिरामी तथा मृत्यु हुनेमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने आएका तथा दर्शन गरेर फर्किएका धार्मिक पर्यटक हुने गरेकाले मन्दिर क्षेत्रमा तीन ठाउँमा स्वास्थ्य परीक्षण गर्ने गरिन्छ । मन्दिरको प्रवेशद्वार सिँढी, भित्र र मन्दिर क्षेत्रमा गरी तीन स्थानमा स्वास्थ्य परीक्षणले बिरामीको सङ्ख्या घटेको वडाध्यक्ष एवं मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
प्रादेशिक अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ‘हाई अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा छ ।