• १६ चैत २०८०, शुक्रबार

डेढ महिनापछि हवाई सेवा सहज

blog

सिमकोट विमानस्थलमा अवतरण गरेका जहाज ।

हुम्ला, वैशाख २७ गते । डेढ महिनापछि कर्णाली प्रदेशका हिमाली जिल्लाको हवाई सेवा सहज भएको छ । यहाँ सेवा दिइरहेका निजी विमान कम्पनीका जहाज काठमाडौँ फिर्ता भएका थिए । त्यसपछि कर्णालीका हिमाली जिल्लामा हवाई सेवा असहज भएको थियो । नेपाल एयरलाइन्सले भने सेवा दिइरहेको भए पनि यो अपर्याप्त थियो ।

अहिले नेपालगञ्जलाई आधार बनाई सेवा दिन निजी विमान कम्पनीका जहाज आएपछि कर्णालीका हिमाली चार र सुदूरपश्चिमको बाजुरा जिल्लाको हवाई सेवा सहज भएको हो । नेपालगञ्जबाट सिमकोट आउनुभएका यात्रु उजिर रावतले हवाई सेवा सहज बन्दै गएको अनुभव सुनाउनुभयो । 

टिकट नपाएर हप्ता दिनसम्म नेपालगञ्ज रोकिनुपर्ने समस्या समाधान भएको बताउँदै उहाँले निर्वाचनका बेला भएका कारण यात्रुको चाप पनि बढेको जानकारी दिनुभयो । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा आइतबार मात्रै नौवटा उडान भएका थिए । नागरिक उड्डयन प्राधिकरण सिमकोटका वरिष्ठ अधिकृत मनोज दङ्गालले बल्ल हवाई सेवा सहज भएको बताउनुभयो । उहाँले डेढ महिनाको अवधिमा हप्तामा तीनवटा मात्र उडान हुने गरेकामा अहिले एकै दिनमा धेरै उडान हुन थालेकाले यस क्षेत्रमा हवाई सेवा सहज हुन थालेको बताउनुभयो ।

नेपालगञ्जलाई आधार बनाई सेवा दिन निजी विमान कम्पनीका जहाज आएपछि कर्णालीका हिमाली चार र सुदूरपश्चिमको बाजुरा जिल्लाको हवाई सेवा सहज 

समिट एयर नेपालगञ्जका सहायक कर्मचारी वसन्त मल्लले कर्णालीका हिमाली जिल्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले जहाज नेपालगञ्ज फिर्ता भएपछि हवाई यातायात सहज भएको बताउनुभयो । आइतबार एक दिनमा सीता र समिट एयरले तीनरतीन, ताराले दुई र नेपाल एयरलाइन्सले एउटा उडान सिमकोटका लागि भरेका छन् । यी सबै उडानमा नेपालगञ्ज र सुर्खेतबाट यात्रु ल्याइएको थियो । 

मल्लका अनुसार नेपालगञ्जबाट निजी तथा नेपाल एयरलाइन्सका जहाजले कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगुको ताल्चा, डोल्पा र बाजुराको कोल्टीमा नियमित उडान सुरु गरेको जानकारी दिनुभयो । एउटा जहाजले दैनिक छवटाका दरले उडान गर्दा यस क्षेत्रमा २४ वटासम्म उडान हुने गरेका छन् । अन्य जिल्लाको दाँजोमा कर्णालीका हुम्ला र डोल्पा यात्रु तथा व्यवसायीले बढी समस्या भोगिरहेका बेला जहाज फिर्ता भएपछि समस्या समाधान भएको हो । 

हवाई सेवा सहज भएपछि यात्रुका साथै उपभोग्य सामग्री र निर्माण सामग्री ढुवानी पनि सहज भएको छ । निर्वाचन भएको कारण यात्रुलाई पहिलो प्राथमिकतामा राखिएको र त्योसँगै सामान पनि ढुवानी हुन थालेको छ । हवाई सेवा सहज नहुँदा माथिल्लो हुम्लामा निर्माण सामग्रीको मूल्य ४० प्रतिशतभन्दा धेरैले बढेको थियो । यसले गर्दा विकास निर्माण योजनाको काम अलपत्र भएका थिए । 

Author

राजन रावत