अमरराज नहर्की
तनहुँ, कात्तिक ३ गते । तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीले भन्नुभयो, “हामीले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता लिएका छौँ । त्यसैले तिहार बिदा भएकै दिन पनि काम सुचारु रहने छ ।’’ यस अघि दसैँको बिदामा पनि काम निरन्तर सञ्चालन गरिएको थियो, जसले हाम्रो समयसीमा पूरा गर्न सहयोग पुर्याएको आयोजनाले जनाएको छ ।
आयोजनाले समयसीमा भित्र आयोजना सम्पन्न गर्ने रणनीतिअन्तर्गत पर्व र छुट्टीको दिनमा पनि काम निरन्तर राख्दै आएको छ । चिनियाँ तथा नेपाली पनि अधिकांश कामदारहरू काम खटिरहेको आयोजनाले जनाएको छ ।
भण्डारी अनुसार आयोजनाको समग्र प्रगति हाल ६८.२ प्रतिशत पुगेको छ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायत संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग खन्ने, स्लोप निर्माण र प्रवेश सडक स्तरोन्नतिलगायतको काम भइरहेको छ ।
बाँधको वर्तमान उचाइ २० मिटर पुगेको छ । दोस्रो प्याकेजमा सुरुङ, विद्युत् गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालन सिनो हाइड्रो, चीनले गर्दैछ । तेस्रो प्याकेज अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण केइसी, भारतले गरिरहेको छ ।
१४० मेगावाट क्षमता रहेको यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । वित्तीय व्यवस्थापनअनुसार एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैँकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी आयोजना सञ्चालित छ ।