• ९ भदौ २०८१, आइतबार

महोत्सवले चलायो हाटबजार

blog

बनेपा (काभ्रेपलाञ्चोक), भदौ ९ गते । बनेपा नयाँ सहर होइन तर त्यहाँ परम्परागत हाटबजार पनि चलेन । हालै आएर मात्र बनेपाको लायकु दरबार प्राङ्गणमा हाट लाग्न थालेको छ । त्यसको जस भने आधुनिक मेला महोत्सवले लिएको छ । 

अरू बेला खेलकुद र सांस्कृतिक कार्यक्रम हुने बनेपाको लायकु दरबारको प्राङ्गण हालैका शुक्रबार लाग्न नपाउँदै तरकारी र अत्यावश्यक सामग्रीले भरिभराउ हुन थालेको हुन्छ । हाटबजारको नाम सुनेका तर अभ्यास नगरेका बनेपाली यहाँबाटै सामान खरिद बिक्री गर्न थालेका छन् । 

सांस्कृतिक महोत्सव भन्नेबित्तिकै कलाकार ल्याउने नाच्ने र नचाउने भन्ने धेरैले सोच्छन् तर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा २०८० फागुन ४ देखि ७ गतेसम्म आयोजित बृहत् कृषि महोत्सवले शुक्रबारे हाटबजार बसाएको छ । चार दिनको महोत्सवमा ७० हजारभन्दा धेरैले अवलोकन र पाँच करोड रुपियाँभन्दा धेरैको कारोबार भएपछि चैत १६ गतेदेखि सोही स्थानमा नियमित रूपमा हाटबजार सुरु भएको हो । 

नेपालका धेरै ठाउँ हाटबजार सहरका रूपमा विकसित भएका छन् तर पुरानो सहर बनेपामा पनि महोत्सवपछि हाटबजार सुरु गरिएको छ । चार दिनसम्म कृषि उपजमा लागेको भिड थेग्न नसक्ने देखेपछि बनेपा नगरपालिकाले क्रबार काभ्रेको कोसेली काठमाडौँसम्म पु¥याउन हाटबजार सुरु गरेको हो । हाटबजारका लागि आवश्यक ठाउँ बनेपा नगरपालिका स्थानीय लायकु राजमञ्चको मैदानमा उपलब्ध गराएको छ । 

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौँ फर्कनेका यात्रुका लागि लक्षित गरेर आरम्भ भएको हाटबजारमा ग्राहकको उल्लेख्य भिड लाग्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सामग्री शुक्रबारको हाटबजारमा पाइने जस्तै भएको छ । स्थानीयले आफ्ना उत्पादनको किनबेचको थलोको हाटबजारलाई बनाएका छन् ।” 

हाटबजारमा दुई सयभन्दा धेरै पसल सञ्चालन हुन थालेका छन् । बनेपा नगरका उपप्रमुख विमला सापकोटाले रैथाने उत्पादन, घरेलु तथा हस्तकलाको सामग्री र ताजा तरकारी नै हाटबजारको मुख्य आकर्षण रहेको बताउनुभयो । 

उहाँले काठमाडौँ फर्कने यात्रुले ताजा र अर्गानिक तरकारी किन्न हाटबजारलाई रोज्न थालेको दाबी गर्नुभयो । हाटबजारको व्यवस्थापन र बजार बसेपछिको सफाइको जिम्मेवारी पनि नगरपालिकाले गर्दै आएको छ । सफाइलगायतको कार्य गर्न नगरपालिकाले प्रतिपसल २५ रुपियाँ लिने गरेको छ तर डोकामा तरकारी ल्याएर बेच्ने किसानलाई शुल्क लाग्दैन । ठुलो क्षेत्रफल लिने र लाखौँ रुपियाँ व्यापार गर्नेसँग एक साताको एक सय रुपियाँ सफाइ शुल्क लिइन्छ । 

बनेपा नगरपालिकाले शुक्रबारे हाटबजारमा ५० लाख रुपियाँको व्यापार हुने अनुमान गरेको छ । पाँच हजारभन्दा धेरै उपभोक्ता आउने गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले समितिको आयोजनामा सम्पन्न कृषि महोत्सवले हाटबजारका रूपमा विकास भएपछि किसानले आफ्नो उत्पादन सहजै बेच्न सक्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । उहाँले हाटबजार नियमित गर्न नगरपालिकासँग समन्वय गर्ने बताउनुभयो ।