• १३ वैशाख २०८१, बिहिबार

रोजाइमा काम गर्न सक्ने उम्मेदवार

blog

काठमाडौँ, वैशाख २५ गते  स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् । आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न पाउने कुराले उनीहरूमा उत्साह थपिएको छ । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने र आफ्नो एक मतको विशेष महत्त्व हुने विषयले नयाँ मतदातालाई जिम्मेवार बनेको पनि अनुभव भइरहेको छ । 

ओखलढुङ्गाको लिखु गाउँपालिकाका निशान भट्टराईलाई मतदान गर्न पाउने कुराले नयाँ अधिकार थपिएको अनुभव भएको छ । उहाँलाई समाजमा अब हाम्रो पनि योगदान छ भन्ने जिम्मेवारी बोध भएको छ । उहाँ पार्टीभन्दा पनि काम गर्नसक्ने व्यक्ति हेरेर मतदान गर्ने सोचमा हुनुहुन्छ । जनप्रतिनिधिले धेरै गर्न सक्ने भए पनि काम गर्न नसकेको अनुभव आफूले गरेको सुनाउँदै चार्टर्ड एकाउन्टेन्ट विषय अध्ययन गरिरहनुभएका भट्टराईलाई गाउँपालिकामा भएको बेरुजु देख्दा नरमाइलो लाग्ने गरेको छ ।  

उहाँले आफ्नो गाउँघरमा अब निर्वाचित भएर आउने जनप्रतिनिधिले विद्यालयको भौतिक मात्र नभएर समग्र शैक्षिक विकास, स्वास्थ्य सेवा प्रवाह, उद्यमशीलता, विकास, बाटो, नागरिक सेवाको सहज पहुँचमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । युवा र विद्यार्थीका लागि पढ्न सहज बनाउन वाइफाइ र ल्यापटपको व्यवस्था भए विश्वको जुनसुकै पढाइ गाउँमै बसेर पढ्ने सक्ने अवस्था हुने उहाँको विश्वास छ । उहाँले, कर्मचारीबाट रेस्पोन्स पाउनै गाह्रो छ, उनीहरू डाइनामिक छैनन् भन्दै अब स्मार्ट पालिका बनाउनेतर्फ जनप्रतिनिधिले सोच्नुपर्ने सल्लाह दिनुभयो । 

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाकी चेतना दुलाललाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने कुराले रोमान्चित बनाएको छ । पहिलो पटक प्रयोग गर्न लाग्नुभएको मताधिकारलाई सबैभन्दा असल व्यक्ति चयन गर्न प्रयोग गर्ने उहाँको इच्छा छ । राजनीतिक रूपमा यो वा त्योभन्दा पनि असल र जिम्मेवार जनप्रतिनिधि छान्ने उहाँले बताउनुभयो । काभ्रेकी युवा दुलालले भन्नुभयो, “योजना राम्रो छ भने स्वतन्त्र उम्मेदवारलाई पनि भोट दिन सकिन्छ ।” उहाँ आफ्नो ठाउँमा सडक र विद्यालयको विकास, महिला सशक्तीकरण, रोजगारीका अवसर होस् भन्ने चाहना राख्नुहुन्छ । भ्रष्टाचार नभएर बजेटको सदुपयोग होस् भन्ने उहाँको चाहना छ । पार्टीलाई मात्रै केन्द्रित गरेरभन्दा पनि जनता केन्द्रित भएर काम गर्नुपर्ने उहाँको सुझाव छ । 

टेलिभिजनमा मात्र मतदान गरिएका दृश्य देख्नुभएका तनहुँको भानु नगरपालिकाका प्रतीक पण्डितलाई अब उक्त प्रक्रियामा आफू सहभागी बन्न पाउने कुराले रमाइलो लागिरहेको छ । उहाँले समाजले पत्याएको काम गर्नसक्ने उम्मेदवारलाई मत हाल्ने बताउनुभयो । टाढाको सपना पनि नदेख्ने र पाँच वर्षमा राम्रो गर्नसक्ने उम्मेदवार होस् भन्ने उहाँको चाहना छ । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँमा रहँदै आउनुभएका पण्डितलाई गाउँमा जाँदा चार÷पाँच घण्टा हिँड्नुपर्छ । उहाँले भन्नुभयो, “अर्को पटक जाँदा बाटो बनोस् । गाउँमा सेवा सुविधा थपेर पढ्न र रोजगारीका लागि बाहिर जान नपर्ने अवस्था होस् भन्ने चाहना छ । मेरो गाउँ बाँझै छ । रोजगारी वा स्वरोजगार सिर्जना गरी युवालाई गाउँमै रोक्न सक्नुपर्छ ।” 

रामेछापको सुनापति गाउँपालिका बेथानकी सुशीला चालिसे मतदान गर्न पाउने कुराले निकै उत्साहित हुनुहुन्छ । गाउँको विकासमा केन्द्रित उम्मेदवारलाई मत दिने चाहना व्यक्त गर्दै उहाँले भन्नुभयो, “गाउँमै प्राविधिक शिक्षाको विकास होस् भन्ने लाग्छ ।” वाणिज्यशास्त्रमा स्नातक अध्ययनरत चालिसेले गाउँमै बैङ्किङ सेवा प्राप्त नभएकाले यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताउनुभयो । 

काभ्रेको देवभूमि गाउँपालिकाकी आयूषी खरेललाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने कुराले उत्साह सञ्चार भएको छ । आफ्नो एक मतको महìव रहेकोमा खुसी व्यक्त गर्दै उहाँले निर्वाचित जनप्रतिनिधिलाई युवाका लागि शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न सुझाव दिनुभयो । बाटो, विद्यालय र सीप विकास आफ्नो गाउँको प्रमुख आवश्यकता भएकाले उम्मेदवारले यसलाई समेट्नुपर्छ भन्ने लाग्छ उहाँलाई । उहाँ समयको महìव बुझ्ने जिम्मेवार उम्मेदवारलाई मत दिने सोचमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “राम्रो मान्छे आउनुपर्छ । जिम्मेवारी पूरा गर्नुपर्छ । सेवा सहज हुनुपर्छ ।’’