• ३१ वैशाख २०८३, बिहिबार

बेइजिङमा सी र ट्रम्पबिच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

blog

चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा वार्ता हुँदै । तस्बिर: सिन्ह्वा

बेइजिङ, वैशाख ३१ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति सीले दुई देशबिच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताउनुभयो । 

चीन र अमेरिकाबिचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उहाँले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीले भन्नुभयो, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”

विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताउनुभयो । 

उहाँले चीन र अमेरिकाले ठुला शक्तिबिचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबिचको सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत व्यक्त गर्नुभएको छ । सिन्ह्वा