हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ३१ गते । गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रेका लागि स्रोत सुनिश्चित भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको घमी जोड्ने ४०.२ किलोमिटर सडकलाई अर्थ मन्त्रालयबाट ३ अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चित्ता भएको आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।
प्रमुख शर्माले भन्नुभयो, ‘‘स्रोत सुनिश्चितता भएको छ, यो आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया अगाडि बढ्छ ।’’ आगामी आर्थिक वर्ष २०८३–८४ सालबाट काम सुरू हुने आयोजना प्रमुख शर्माले बताउनुभयो ।
यो खण्डले तल्लो मुस्ताङलाई उपल्लो मुस्ताङमा पर्ने लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकालाई जोड्छ । चिनको तिब्वतसँग सिमान जोडिएको कोरला सडकसम्म्मको यात्रालाई सहज बनाउन स्रोत सुनिश्चित्ता नहुँदा अलपत्र अवस्थामा रहेको खण्डमा अर्थ मन्त्रालयबाट प्राप्त स्रोतले अब सहज हुने सङ्घीय सांसद योगेश गौचन थकालीले बताउनुभयो ।
सांसद गौचन थकालीले घमीदेखि कोरलासम्मको सडक खण्डलाई समेत आगामी आवको बजेटमा सम्बोधनको प्रयास भइरहेको बताउनुभयो । सांसद गौचन थकालीले सडक सञ्जालमा बजेट अभाव हुन नदिने र अब निर्माण कम्पनीलाई ढिलासुस्ती हुन नदिने गरी काम गरिने बताउनुभयो ।
हाल बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, कागबेनीदेखि वडा ३ छुसाङ खण्डको १० किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा ९ दशमलव ८ किलोमिटरमा काम भइरहेको छ । ११ मिटर फराकिलो दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गर्नेगरी स्ट्रक्चरको काम भइरहेको छ ।
कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिका लागि २०७४ मा काम सुरू गरिएको थियो । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी कोरिडोर सडक कोरला नाकासम्म पुगेर सम्पन्न हुने छ ।