चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख ३१ गते । बर्दियाको मधुवन नगरपालिका–१ को भलुनि भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ ।
मधुवन नगरपालिका–१ का वडाध्यक्ष मिनबहादुर थापाले बिहीबार बिहान बाघ मृत भेटिएको जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि बालुवा लिन बिहानै खोलामा पुगेका स्थानीय कामदारले जिउँदै बाघ पानी खान खोलामा आएको र पानी खाएको केहीबेरमा सोही खोलाको किनारमा बाघ मरेको जानकारी आफूलाई दिएको वडाध्यक्ष थापाले जनाउनुभयो ।
उहाँले आफूले खबर पाएसँगै डिभिजन वन कार्यालय बर्दियाका प्रमुखलाई खबर गर्न खाेज्दा मोबाइल अफ आएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुखलाई खबर गरेको बताउनुभयो ।
बाघको घाँटीमा देखिएको चोटको प्रकृति हेर्दा जङ्गली जनावर मार्न थापेको पासोमा परी घाइते भएकोजस्तो देखिएको उहाँले बताउनुभयो । “जङ्गली जनावर मार्न थापेको पासोमा बाघ परेजस्तो देखिन्छ, तार चुँडालेर खोलामा पानी खान आएको घाइते बाघको मृत्यु भएकोजस्तो देखिन्छ, वनका कर्मचारी घटनास्थल पुगेर अनुसन्धान भइरहेको छ” वडाध्यक्ष थापाले भन्नुभयो ।