काठमाडौँ, भदौ ५ गते। धादिङ जिल्लाको अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्डमा एकतर्फी बाटो खुलेको छ। नागढुङ्गाबाट झण्डै दुई सय मिटर नौबिसेतर्फ पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको थियो।
प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमकुमार थपलियाका अनुसार पहिरो तथा ढुङ्गा खस्ने क्रम जारी नै भएपनि तत्काल व्यवस्थापनका लागि दुई वटा जेसीबी राखिएको छ।
इन्स्पेक्टर थपलियाले भन्नुभयो, “पहिरो खस्ने क्रम जारी छ। ढुङ्गाहरू खस्ने क्रम पनि जारी नै छ। त्यो भएतापनि दुईतिर जेसीबी स्ट्याण्डबाइ राखेका छौँ। त्यसैले पहिरो झरीहालेपनि व्यवस्थापन गरिहाल्छ। अहिले वान–वे सुचारु छ।”
उहाँले काठमाडौँबाट जाने तथा काठमाडौँ भित्रिने दुवै तर्फको यातायातका साधनलाई अलि परै रोकेर आवश्यकता अनुसार पठाउने काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यताबाट जाने गाडी र आउने गाडीलाई रोकेर पठाउँछौँ ।”