• १७ वैशाख २०८२, बुधबार

मन्त्रालयको कार्यसम्पादनमा मुख्यमन्त्री लामाको चासो

blog

छलफलमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलगायत।

राममणि दाहाल

मकवानपुर, वैशाख १६ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। 

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन र प्रदेश सरकारको कार्यसम्पादनका बारेमा मङ्गलबार हेटौँडामा भएको समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले मन्त्रीलाई यस्तो निर्देशन दिनुभएको हो। 

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहभागी कार्यदल रहेको संसदीय दलका नेता मुख्य सचेतक, प्रमुख सचेतकलगायत र प्रदेशका मन्त्रीको सहभागितामा छलफल भएको हो। छलफलमा मुख्यमन्त्री लामाले प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेट खर्च सुस्त रहेकोले मन्त्रालयको कार्यसम्पादन र बजेट खर्चलाई तिव्रता दिन निर्देशन दिनुभएको हो। 

प्रदेशका मन्त्रीले मन्त्रालयगत कार्यप्रगति प्रस्तुत गर्नुभएको समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आवको नौ महिनाको अवधिको वित्तीय प्रगति सन्तोषजनक नभएकोले अन्य काममा भन्दा चालु आवको कार्यक्रम र विनियोजित बजेट खर्चमा प्राथमिकता दिन मन्त्रीलाई सुझाउनु भएको छ। 

छलफलमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशका १४ वटा मन्त्रालयको गत चैत मसान्तसम्मको कार्य प्रगति प्रस्तुतिपछि बजेट खर्चको प्रगति कमजोर रहेको समीक्षा कार्यक्रममा सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बताउनुभयो। 

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री लामिछानेले समीक्षामा मन्त्रीले आर्थिक वर्ष सकिँदा कुल बजेटको ८० प्रतिशत प्रगति हासिल हुने बताउनुभएको जानकारी दिनुभयो। 

सत्तारुढ दलको कार्यदलका सदस्य कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले सरकारका मन्त्री र कार्यदलका सदस्यसहितको समीक्षा कार्यक्रममा सहभागी सरकारको गत नौ महिनाको कामको समीक्षा गर्दै कमजोरीलाई सुधार गर्दै बाँकी अवधिमा सरकारको कामलाई द्रुतगतिमा अगाडि बढाउने बारेमा सुझाइएको बताउनुभयो। 

चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँ बजेटमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले चालु आवको नौ महिना पुरा हुँदा ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको छ। यो अवधिमा प्रतिशतका आधारमा चालुतर्फको बजेटको तुलनामा पुँजीगत तर्फको बजेट कम खर्च भएको छ।

नौ महिनाको अवधिमा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत खर्च भएको छ। प्रदेश सरकारले चालु आवका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपियाँ विनियोजन गरेकोमा नौ  महिनाको अवधिमा १० अर्ब ४९ करोड सात लाख ५५ हजार र पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार रुपियाँ विनियोजन भएकोमा यो अवधिमा १० अर्ब ४९ करोड सात लाख ११ हजार रुपियाँ खर्च गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले गत असोजको दोस्रोे साता आएको बाढीपहिरोका कारण प्रदेशका छ हजारभन्दा बढी परिवार प्रभावित भएको भन्दै छलफलमा विपद्का लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले विपद् व्यवस्थापन कोषमा बजेट नहुँदा नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरेको भन्दै विपद् व्यवस्थापन कोषमा पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरिएको समेत बताउनुभयो।