• २४ असार २०८२, मङ्गलबार

बागलुङ नगर सहलगानी खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

blog

बागलुङ नगरपालिका-३, काठेखोला किनारमा निर्माण भइरहेको बागलुङ नगर सहलगानी खानेपानी आयोजना । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार २४ गते । बागलुङ नगरपालिका-३, को काठेखोला किनारमा निर्माणाधीन लिफ्टिङ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी आयोजनाको अन्तिम चरणमा पुगेको छ । २०७५ सालमा दुई वर्षभित्र २०७७ सालमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको आयोजना पाँच वर्ष ढिला गरी सम्पन्न हुन लागेको हो । 

खानेपानी आयोजनाको म्याद सकिएको ५ वर्ष काटिसकेको छ । आयोजनाको हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । ३० प्रतिशत लगानीको २५ प्रतिशत नगरविकास कोषको ऋण सहयोग समेत जुटाइएको छ । 

यो आयोजना निर्माण नसकिएपनि उपभोक्ता संस्थाले वर्षमा ८० लाख रुपियाँ साबा व्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट अहिले सदरमुकामको वडा नं. १, २, ३ र ४ मा गरी ४ हजार १ सय धारा जडान भएका छन् । स्थायी र अस्थायी गरी ५० हजार जनसङ्ख्याले यो पानी उपभोग गर्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवहाक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले जानकारी दिनुभयो । 

खानेपानी तथा ढल निकास विभागले कन्सल्ट्यान्टमार्फत यो आयोजनाको डिजाइन बनाएपछि २०७५ सालमा दुइ वर्षभित्र काम सक्ने गरी कन्काई जयमाता संयुक्त निर्माण कम्पनीले ३० करोड २६ लाख रुपियाँमा आयोजना निर्माण थालेको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर अहिले ३४ करोड ६५ लाख मूल्य पुगिसकेको छ । ठेकेदारले समयमै आयोजना हस्तान्तरण नगर्दा संस्थाले एक वर्षमै ६० लाख ५५ हजारभन्दा बढी रकम विद्युत महशुलका लागि भुक्तानी गर्दै आएको अध्यक्ष जिसीले बताउनुभयो ।   

यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा ५ वटा समवेल बनाइएको छ । ५ लाख लीटरको एक र २ लाख लिटरका २ वटा आरबिटी ट्याङ्की बनाइएको छ । दुई वटा स्लोसेन्ट ट्याङ्की पनि निर्माण गरिएको छ । काठेखोलादेखि रात्माटाहुँदै भीरलाँकुरीसम्म लैजाने पाइपलाइनका लागि डिआई पाइप डिजाइन भएको छ । प्रतिसेकेन्ड ७० लीटर पानी लिफ्ट गर्ने योजना भए पनि अहिलेसम्म सबै पानी लिफ्ट गर्ने काम बाँकी छ । 

ठेकेदार कृष्णहरि चौलागाईले पाइप फुटेर हैरानी हुँदा समयमै आयोजना हस्तान्तरण गर्न नसकेको बताउनुभयो । यो भूगोलमा डिआई पाइप उपयुक्त नभएको उहाँको भनाइ छ । सङ्घिय खानेपानी तथा ढल निकास कार्यालयकी प्रमुख सोनम थापाले डिजाइन त्रुटी नभएको, भूगोल बाधक भएको बताउनुहुन्छ । ‘‘प्राविधिक रूपमा यो पाइप दिगो हुन्छ’’ थापाले भन्नुभयो । यो आयोजनामा भने डिआई पाइप फुटेको स्थानमा जिआई पाइपले धानेको छ ।

लिफ्टिङ आयोजनामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बेनी म्याग्दीबाट ६ इन्च र ८ इनचको सिमलेस पाइप उपलब्ध गराउने र खानेपानी संस्थाबाट जडा गर्ने काम भइरहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो । आयोजना सम्पन्न भएमा नगरवासीलाई प्रशस्त पानी उपलब्ध गराउन सकिने जिसीको भनाइ छ ।