• २४ असार २०८२, मङ्गलबार

उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालय सम्मानित

blog

सलिम मियाँ

बिजुवार, असार २४ गते । प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१-८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले एसइईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो ।

नगर प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

७४ वर्षअघि स्थापना भएको शारदा मा.वि.मा गत वर्षदेखि मात्रै कक्षा १० सम्म पढाइ सुरु गरिएको थियो । पहिलोपटक एसइईमा सहभागी भएका २३ मध्ये २१ जना उत्तीर्ण गराउँदै विद्यालयले ९१.३० प्रतिशत सफलता हासिल गरेको हो । उक्त उपलब्धिले विद्यालयलाई नगरभित्र पहिलो र जिल्लाभर दोस्रो स्थानमा उभ्याएको छ ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।