• २४ असार २०८२, मङ्गलबार

टेनिस खेलाडी शिभालीले युरोपमा चार प्रतियोगिता खेल्ने

blog

शिभाली गुरुङ । फाइल तस्बिर

काठमाडौँ, असार २४ गते । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत  चार प्रतियोगिता खेल्दै हुनुहुन्छ ।

शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक एक प्रतियोगिता खेल्न लाग्नुभएको हो । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनुहुने छ ।

त्यसपछि उहाँले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा र जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा प्रतिस्पर्धा गर्नुहुने छ । 

उहाँले जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । यस्तै उहाँले अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कप खेल्नुहुने छ । 

प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरियता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस सङ्घले जनाएको छ ।

एसियाबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्नुहुनेछ ।