काठमाडौँ, वैशाख १६ गते । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको श्रम बजार चुनौतीपूर्ण रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको श्रम बजारको अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा श्रमिकलाई उत्साहितभन्दा निरुत्साहन गर्ने प्रवृत्ति रहेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
जिफन्टले उत्पादनमूलक उद्योग तथा प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ्ग, ट्राभल्स, प्रिन्टिङ प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी कुल तीन सय २७ वटा श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरी श्रम अडिट प्रतिवेदन तयार गरेको बताएको छ ।
उक्त प्रतिवेदन अनुसार नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या गत वर्षभन्दा कम छ । अर्थात् नियमित रोजगारीमा श्रमिकको सङ्ख्या २०८० सालमा ५९.७२ प्रतिशत र २०८१ सालमा ५३.३५ प्रतिशत छ ।
२०८० सालमा कार्यगत रोजगारीमा रहेका श्रमिक ६.१९ प्रतिशत, समयगत रोजगारीमा रहेका श्रमिक ५.५२ प्रतिशत, आंशिक रोजगारीमा रहेका श्रमिक १.७३ प्रतिशत, अन्य श्रमिक सङ्ख्या २.८४ प्रतिशत रहेको थियो ।
२०८१ सालमा कार्यगत रोजगारीमा रहेका श्रमिक ५.५१ प्रतिशत, समयगत रोजगारीमा रहेका श्रमिक ८.५८ प्रतिशत, आंशिक रोजगारीमा रहेका श्रमिक १.४८ प्रतिशत र अन्य श्रमिक सङ्ख्या १.७५ प्रतिशत छ । अध्यक्ष श्रेष्ठले शतप्रतिशत श्रमिक नियमित रोजगारीतर्फ रहनुपर्ने भए पनि प्रायजसो अनौपचारिक रूपमा श्रमिक आबद्ध हुने गरेको बताउनुभयो ।
यसैगरी, २०८० सालमा न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्ने प्रतिष्ठान २१.७ प्रतिशत, प्रत्येक वर्ष चाडपर्व खर्च नदिने प्रतिष्ठान ८.९ प्रतिशत, प्रत्येक वर्ष आधा दिनको पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) नदिने प्रतिष्ठान २१.७० प्रतिशत र एक महिनाको अन्तरालमा पारिश्रमिक भुक्तानी गर्ने प्रतिष्ठान २८ प्रतिशत रहेको तथ्याङ्क थियो ।
२०८१ सालमा न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्ने प्रतिष्ठान बढेको छ अर्थात् २९ प्रतिशत पुगेको छ । पछिल्लो वर्ष चाडपर्वमा खर्च नदिने प्रतिष्ठान २१.३ प्रतिशत, ग्रेड वृद्धि नदिने प्रतिष्ठान ३६.९ प्रतिशत र एक महिनाको अन्तरालमा पारिश्रमिक भुक्तानी गर्ने प्रतिष्ठान २९.९ प्रतिशत पुगेको छ । उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवस वैशाख १८ गते जिफन्टले आगामी कार्यक्रमको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभयो ।