काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
मङ्गलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो ।
सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कांग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
“नेपाली कांग्रेसले गठन गरेको प्रायः सबै विभागहरूले सक्रियताका साथ राम्रो काम गरिराख्नुभएको छ । विभागहरूको सक्रियताले पार्टीलाई गतिशील बनाएको छ र नयाँ ऊर्जा पनि थपेको छ । लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीति तर्जुमाको लागि महत्त्वपूर्ण हुने छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘यस सन्दर्भमा विभिन्न उत्थानसम्बन्धी विभागहरूले आफ्नो क्षेत्राधिकार भित्र रहेर सबै विषयहरूलाई समेटेर प्रतिवेदन पेस गर्नुभएकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।”
सभापति देउवाले पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।