• ११ मंसिर २०८१, मङ्गलबार

मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ र प्रदेशका मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता करार हुँदै । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, भदौ ५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । 

हेटौँडामा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीका बारेमा मुख्यमन्त्री बहादुर सीँ लामा तामाङसँग प्रदेशका मन्त्रीहरूले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । 

कार्यक्रममा ११ जना मन्त्रीबिच कार्यसम्पादन करार सम्झौता गरिएको थियो । प्रदेशका बिनाविभागीय मन्त्रीसहित १३ मन्त्रीमध्ये युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन अनुपस्थित हुनुभएका कारण पछि सम्झौता हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री लामा र कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी र स्वास्थ्यमन्त्री किरण थापामगरबिच कार्यसम्पादन सम्झौता भएको छ ।

यस्तै  वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरि प्रभा खड्गी श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का र श्रम र रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको थियो । 

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरूले चालु आवमा गर्नुपर्ने कामहरू कार्ययोजना, समयसीमालगायत उल्लेख गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री लामाले मुख्यमन्त्री र मन्त्रीहरुबिचको कार्यसम्पादन सम्झौताले सरकारका योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सहज हुने बताउनुभयो ।