• ११ मंसिर २०८१, मङ्गलबार

गाउँपालिकामा पुस्तकालय स्थापना

blog

पालिकाको प्रतिक्षाकक्षमा स्थापना गरिएको पुस्तकालय । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, भदौ ५ गते । अर्जुन चौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्र पुस्तकालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग र विश्व हिन्दु युवा सङ्घको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको हो । 

पालिकाको प्रतिक्षा कक्षमा रहेको पुस्तकालय मन्त्रालयको एक लाख ७५ हजार र गाउँपालिकाको ७५ हजार रुपियाँ गरी दुई लाख ५० हजार रुपियाँमा पुस्तकालय स्थापना गरिएको हो । 

युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्व र गरिमा बुझाउन र पठन पाठनको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा   चार वेद, गिता, श्रीमद् भागवत, विष्णुपुराण, महापुराण, गिता, विश्वको इतिहास, नेपाली इतिहास, नेपालको संविधान, नेपाली बृहत् शब्दकोश, बाल साहित्यका कथा, उपन्यास, विद्यालयमा पठनपाठनका शैक्षिक सामग्री सहित छ सय महत्त्वपूर्ण पुस्तकहरू पुस्तकालयमा उपलब्ध छन् । 

सबै पुस्ताका पाठकको रुचिलाई मध्यनजर गरेर पुस्तकालयमा नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू राखिएको विश्व हिन्दु युवा सङ्घका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । 

पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने र व्यवस्थापन गाउँपालिकाले जनाएको छ । पालिकाको शैक्षिक सुधार अभियानको क्रममा पुस्तकालय व्यवस्थापनमा विश्व हिन्दु युवासंघसँग सहकार्य गरिएको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पुर्‍याउने बताउनुभयो । 

पुस्तकालय गाउँपालिकामा कामको लागि जाने लेखपढ गर्ने सानो बाालकदेखि विद्यार्थी, वृद्ध सम्मलाई फलदायी छ । ११ पालिका रहेको स्याङ्जामा पालिकामा व्यवस्थित पुस्तकालय स्थापना गर्ने अर्जुन चौपारी पहिलो हो ।