हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १६ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोट गाउँमा रहेको तोरा ताल पर्यटकको पर्खाइमा छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जाने सडकखण्डबाट करिब २ मिनेटको दुरीमा रहेको तालबाट धौलागिरि, थोरङ्ला पिक, होङ्दे पश्चिम लगायत हिमशृङ्खलाको छायाँ स्पष्टै देखिन्छ ।
प्राकृति सुन्दरताले युक्त हुनुका साथै धार्मिक तथा जैविक विविधताको महत्त्व रहेको समुद्री सतहदेखि पैतिस सय मिटरको उचाइमा अवस्थित ताल संरक्षणको अभावमा मौलिक स्वरूप नासिँदै गएको छ ।
वर्षे बर्सेनी नागको पूजाआजा गरिने प्राकृतिकरूपमा बनेको तोरा तालको भू बनोट देख्नेहरू आर्कषित हुने गरेको स्थानीयबासी पाल्गेन गुरूङले बताउनुभयो । झारकोट गाउँबाट करिब २ मिनेटको दुरीमा रहेको ताल आसपासका पहाड र हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिने भएकाले पनि प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न सकेमा पर्यटकको आगमन हुने गुरूङको भनाइ छ ।
ताल नजिकै रहेको मुहानको संरक्षण तथा आसपासका घुम्न आउने पर्यटकको बसाइ लम्बाउने पूर्वाधार विस्तार गर्ने योजना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रबक्ता एवम् वडाध्यक्ष प्रमेश गुरूङले बताउनुभयो ।
प्रवक्ता गुरूङले भन्नुभयो, ‘‘ताल वरपरको क्षेत्रमा पर्यटकलाई आवश्यक पूर्वाधार बनाउन आगामी आवमा बजेट विनियोजन गर्ने योजना छ, तालको अस्तित्वलाई जोगाउन समुदायले पनि चासो देखाउनुभएको छ ।’’ ताल आसपासका क्षेत्रमा बस्ती नभएकाले नियमित रेखदेखमा समस्या भएको बताउँदै वडाध्यक्ष गुरूङले समुदायबाट तालको संरक्षण तथा प्रर्वधनका लागि समिति समेत बनाउने बताउनुभयो ।
झारकोट गाउँमा करिब ५० घरधुरी रहेको छ । तालमा पछिल्लो समय टिकटक बनाउने, सेल्फी खिच्ने पर्यटक जान थालेपछि चहलपहल भएपनि दैनिक १ सयभन्दा बढी पर्यटकको आगमन गराउने गरी मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने पर्यटकलाई पुर्याउन सङ्केत चिह्न, आसपासका क्षेत्रमा तालको महत्वका बारेमा होर्डिङ बोर्ड राख्न आवश्यक रहेको वडाध्यक्ष गुरूङले बताउनुभयो ।
यो ताल ५० मिटर लम्बाई, ३० मिटर चौडाइमा फैलिएको छ । पछिल्लो समय हिमपात नहुदाँ तालको सतह घटेपनि बर्खाको समयमा भने पानीको सतह बढ्ने गरेको छ । मुस्ताङका पाँचवटै गाउँपालिका भित्र रहेका तालहरू प्रचारप्रसार र पूर्वाधारको पखाईमा छन् ।